म्याग्दीका ७० भन्दा बढी सामुदायिक वनहरुमा लागेको डढेलोका कारण दुई हजार बढी हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ भने जंगली जनावरहरु जंगल छोडेर गाउँ पस्न थालेका छन् । वनमा आगलागी हुँदा साना तथा ठूला सयौँ रूखबिरुवा जल्नुका साथै बहुमूल्य जडीबुटी, जङ्गली पशुपक्षी र अन्य वन पैदावार नष्ट भएका छन् ।

म्याग्दीमा हावाहुरीको मौसम सुरु भएसँगै सदरमुकाम बेनी तथा विभिन्न स्थानमा दिनहुँजसो आगलागीका घटना भइरहेका छन् । सामुदायिक वनमा १० हेक्टरदेखि १५० हेक्टर क्षेत्रफलमा आगलागीले क्षति पुगेको डिभिजन वन कार्यालयको तथ्याङ्कले देखाउँछ ।

चार दिन अघि मात्र बेनी नगरपालिका–२ ज्यामरुककोटको बगरफाँट सामुदायिक वनको ६५ हेक्टर जङ्गल आगलागीबाट सखाप भयो । बुधबार मुलछहरी सामुदायिक वनमा लागेको आगोले करिव डेढ सय हेक्टर वन क्षेत्र नास हुनुको साथै जंगली जनावरहरु वासस्थान छोडेर गाउँ पस्न थालेपछि गाउँलेहरु आतंकित भएका स्थानीयले बताएका छन् । सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा लिनसुरक्षाकर्मी तथा स्थानीय परिचालित भए । स्थानीय र सुरक्षाकर्मी दुई दिनसम्म खटिए पनि आगो निभाउन सकेनन् । आगलागीबाट वनका बहुमूल्य जडीबुटी, जङ्गली जनावर र वन पैदावार नष्ट भएका स्थानीय भीमबहादुर रिजालले बताउनुभयो ।

यसैगरी पश्चिम म्याग्दीको निस्कोट,उपल्लो वदरबाङ क्षेत्रका सामुदायिक वनमा आगलागी हुँदा करिब ८० हेक्टर जङ्गलमा क्षति पुगेको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ । भौगोलिक कठिनाइ र भिरालो वनमा आगो लागेकाले निभाउन कठिन हुने गरेको कार्यालयले जनाएको छ ।

सामान्यतया सुक्खा र गर्मी मौसममा डढेलो बढी लाग्ने गरे पनि म्याग्दीमा हरियो घाँसको लोभमा पाखो डाँडा तथा जङ्गलमा आगो लगाउने गरिएको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख विष्णुप्रसाद अधिकारीले बताउनुभयो । “यस वर्ष म्याग्दीमा आगलागीबाट धेरै क्षति भयो, मानवीय लापरबाहीले आगलागी हुने गरेको छ,” अधिकारीले भन्नुभयो । उहाँका अनुसार मानवीय कारणबाट लगाउने गरिएको डढेलोको असर लामो समयसम्म हुने भएकाले घाँसको लोभमा प्राकृतिक स्रोतसाधनको नष्ट गर्ने गरिएको छ ।

डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयले विभिन्न शीर्षकमा १० लाख बजेटमा विभिन्न उपकरणसहितको साम्रगी व्यवस्थापन, जनशक्ति परिचालनलगायतका गतिविधि गर्ने गरेको छ ।

जङ्गलमा जथाभावी लगाइएको डढेलोको तथ्याङ्क गण्डकी प्रदेशको वन निर्देशनालयमा समेत पठाइएको छ । डढेलोले वातावरण प्रदूषणसमेत बनाएको उहाँको भनाइ छ । जिल्लाको अति दुर्गम क्षेत्रमा जथाभावी डढेलो लाग्दा भूगोलका कारण स्थानीयवासीसहित अन्य जनशक्तिसमेत पुग्न नसक्ने भन्दै उहाँले हरियो घाँसको लोभमा जथाभावी डढेलो लगाउने कार्यलाई निरुत्साहित गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

Leave a Reply