बहराइनमा रहेका म्याग्देलीको साझा संस्था मोना बहराइनले आयोजना गर्न लागेको मोना सांगीतिक साँझ–२०२४ को भब्य तयारी भइरहेको छ । आगामी मे महिनाको दुई तारिकमा आयोजना हुने सांगीतिक साँझको बहराइनमा रहेका विभिन्न क्षेत्रमा पुगेर प्रचारप्रसार तथा निम्तो दिइएको छ ।

महावीर पुनको अनुसन्धान,नवप्रवर्तन र आविष्कारको लागि स्थापित राष्ट्रिय आविष्कार केन्द्र नेपालको सहयोगार्थ १७ बर्षपछि सबैभन्दा ठूलो सांगितिक कार्यक्रम गर्न लागेको मोना बहराइनले चर्चित गायक प्रकाश दुतराज,सम्भोज मल्ल गायिका पूर्णिमा लामा र मोडल अस्मि थापा सहित मोना बहराइनका अध्यक्ष विकास पुनको समेत सांगीतिक प्रस्तुती रहने छ। मोनाको सांस्कृतिक साँझका लागि बहराइनमा रहेका एनआरएनए, विभिन्न नेपाली संघसंस्था, मोना अन्तराष्ट्रियले समेत आर्थिक सहयोग गरेको छ ।

बहराइनमा भइरहेका कार्यक्रम, खेलकुद तथा अन्य गतिविधिहरुमा समेत पोष्टर सहित पुगेर म्याग्देलीले कार्यक्रमलाई भब्य र एतिहाँसिक बनाउने गरी प्रचारप्रसार गरेको मोना बहराइनका अध्यक्ष विकास पुनले बताए । ‘हामीलाई बहराइनमा रहेका संघसंस्था र मोना अन्तराष्ट्रियको पनि साथ छ, यो साथ र सहयोगलाई सधै सम्झिन्छौ’ अध्यक्ष पुनले भने । प्रचारप्रसारले मोनाको सांगीतिक साँझ उत्सव जस्तै देखिएको बताए ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नाँगीमा जन्मिएर आविष्कारको क्षेत्रमा सक्रिय डा.महाबीर पुनको अभियानलाई साथ दिन कार्यक्रम गरिएकाले बहराइनमा रहेका नेपालीहरुको समेत उत्साहजनक उपस्थिती हुने छ ।सांगीतिक कार्यक्रमबाट हुने मुनाफा रकम महावीर पुनले नेपालमा स्थापना गरेको राष्ट्रिय आविस्कार केन्द्र नेपाललाई सहयोग गरिनेछ । फराकिलो सोच र राष्ट्रको हितमा हिँडेका पुनका बारेमा समेत कार्यक्रममा चर्चा गरिने छ।

Leave a Reply