म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६,खिवाङका हरिबहादुर पुनलाई दैनिक आफ्नो रेस्टुरेन्टमा आउने नेपाली र विदेशी ग्राहकलाई विभिन्न स्वादका नेपाली परिकार बनाउन भ्याइनभ्याई छ ।

सन् २००४ सालमा साउदी अरबबाट रोजगारीका लागि कतार पुगेका हरिबहादुरले कतारको सनैयाँ प्लाजा मोड र तरबार गेटको नजिक सञ्चालन गरेको सम्सरा थकाली भान्सा घरमा नेपाली मौलिक खानादाल–भात,परम्परागत थकाली खाना सहित अरबी खाना,इण्डोनेसियाली,इन्डियन लगायत विभिन्न देशका खानाका परिकार पाइन्छ ।

सन् २००६ सालमा १ लाख कतारी रियल लगानी गरी रेस्टुरेन्ट सञ्चालन गरिरहेका हरिबहादुरले कतारमा नेपाली दालभातसँगै कोदोको ढिंँडो,भटमास, गुन्द्रुक लगायत नेपाली परिकार चिनाउन ब्यस्त छन्। विभिन्न देशबाट कतारमा आएकाले आफ्नो रेष्टुरेन्टमा पाक्ने नेपाली परिकारको स्वाद लिन भिड नै लाग्ने गरेको उनको भनाइ छ।

‘अहिले विदेशी खानाको तुलनामा नेपाली परिकारको खोजी धेरै हुन्छ,नेपालमा पाउने अर्गानिक बस्तु मगाएर भएपनि ग्राहकलाई सन्तुष्ट बनाउने कोशिस गरेको छु’ हरिबहादुरले भने । उनले आफ्ना रेस्टुरेन्टमा ग्राहकको चाहना अनुसार नेपालमा पाइने सबै प्रकारको खानाहरू पाइने बताए।‘कतारमा नेपाली खाना चिनाउन पाउँदा निकै खुसी लागेको छ,‘नेपाली खानाको कतारमा छुट्टै ब्रान्ड छ’ हरिबहादुरले भने ।

उनले नेपाली खाना बनाउने विधि सामान्य भए पनि स्वादिलो छ भन्नेबारे रेस्टुरेन्टमा आउने विदेशी ग्राहकबाट जानकारी पाउँदा आनन्द महसुस हुने गरेको बताए ।नेपालको हिमाल, पहाड र तराईको विभिन्न भूभागमा फरक स्वादका परिकारहरू बन्ने भएपनि अधिकांस नेपालीको रोजाइमा थकाली खाना पर्ने गरेको हरिबहादुरको भनाई छ ।

साउदी अरबको विमानस्थलमा कार्यरत हुदाँ इण्डोनेसियाली मारियाना बैवाहिक जिवनमा बाँधिएका हरिबहादुरको एक छोरी छिन् । उनी इण्डोनेसियाको सरकारी कार्यालयमा कार्यरत छिन्। सम्सरा रेस्टुरेन्टलाई फराकिलो बनाउन मारियानाले दिनरात मेहनत गर्छिन् । नेपाल र इण्डोनेसियामा पनि सम्सराको शाखा विस्तार गर्न हरिबहादुरलाई मारियानाले नै योजना सुनाएकी छन् ।

‘श्रीमतिको चाहना बुढेशकालमा नेपालमै गएर बस्ने छ,उनलाई नेपालीको आनीबानी मनपर्छ’ हरिबहादुरले भने ।कतार एयरवेजमा सिनियर इक्यूमेन्ट अफिसरको रुपमा १६ बर्षसम्म काम गरेका हरिबहादुरले जागीर र श्रीमतिको सहयोगमा ब्यवसायलाई समेत निरन्तरता दिएको बताए। हाल उनले करिब १० लाख कतारी रियल ब्यवसायमा लगानी गरेका छन् । उनको रेस्टुरेन्टमा दैनिक ३ सय देखि ५ सय जनासम्म ग्राहक आउँछन् ।

कतारमा रहेका म्याग्देलीका हरेक कार्यक्रममा पुग्ने हरिबहादुरले नेपाली कला र संस्कृतिको जर्गेनाका साथै कतारमा रहेका नेपालीहरूका कार्यक्रममा समेत सहयोग गर्ने गरेको मोना कतारमा निर्वतमान अध्यक्ष एवम् मोना अन्तराष्ट्रियका कोषाध्यक्ष नरेन्द्र फगामीले बताए । ‘उहाँ म्याग्देलीको अभिभावक हो,नेपाली खाना चिनाउने देखि नेपालीका हरेक कार्यक्रममा पनि पुग्नुहुन्छ’ फगामीले भने ।

उनका अनुसार कतारमा सम्सराको स्वाद भनेपछि हुरुक्क हुने धेरै भएको बताए । विदेशमा दाल, भात र रोटीलाई नै नेपाली खान भन्नु पर्छ भन्ने बाध्यताको अन्त्य गदैं नेपालका विभिन्न थरी परिकारहरु हरिबहादुरले भित्राएको समेत फगामीको भनाई छ । नेपालको परिकारको प्रवद्र्धनमा उनले कतारमा हुने विभिन्न कार्यक्रमहरूमा समेत स्टल लिएर पुग्दा थप प्रचार–प्रसार भएको छ ।

 

Leave a Reply