बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछानेकी छोरी प्रपन्ना पौडेल बेनी सामुदायिक माविको प्रवेश परीक्षामा सहभागि भइन् । सदरमुकाम बेनीबजारकै निजी विद्यालयमा उत्कृष्ट विद्यार्थीभित्र पर्ने छोरीलाई कक्षा २ मा भर्नाको प्रक्रियामा उपमेयर लामिाछाने विद्यालयमा पुगिन् ।

उपमेयर लामिछानेजस्तै २ सयभन्दा बढी अभिभावकले आफ्ना छोराछोरीलाई भर्ना गर्न आइतबार विद्यालयमा पुगेका थिए । बेनी नगरपालिका–७, बेनीबजारमा अवस्थित बेनी सामुदायिकमा हरेक बर्ष भर्ना हुन आउनेको लर्को लाग्ने गरेको छ। सहर देखी गाउँमा रहेका सामुदायिक र निजी विद्यालय छोडेर आएका विद्यार्थीले आइतबार विद्यालयले लिएको प्रवेश परीक्षामा सहभागि भए।

१ सातासम्म विद्यालयले जारी गरेको भर्ना आवेदन फारममा विद्यार्थीले बायोडाटा सहितको विवरण बुझाएर प्रवेश परिक्षामा सहभागि भएका थिए। कक्षा कोठामा परिक्षा दिइरहेका विद्यार्थीका अभिभावको विद्यालय परिसर तथा आसपासका क्षेत्रमा बार्षिक परीक्षा जस्तै गरी भिडभाड देखिन्छ ।

भौतिक संरचना र मानवीय जनशक्तीको अभावले १ देखी ९ कक्षासम्म क्षमता अनुसार १ सय १० विद्यार्थीलाई भर्ना लिन गरिएको परिक्षामा २ सय ४० भन्दा बढी विद्यार्थीको सहभागिता रहेकोे थियो। ‘भौतिक पूर्वाधारको अभावका कारण सबै विद्यार्थीलाई भर्ना गर्न समस्या हुन्छ, प्रवेश परीक्षा रहर नभई बाध्यता हो’ प्रधानध्यापक दिपक श्रेष्ठले भने । विद्यालयमा म्याग्दी र पर्वत जिल्ला घर भएका विद्यार्थीहरूमध्ये अधिकांस संस्थागतबाट धेरै विद्यार्थी आउने गरेका छन् ।

प्रवेश परीक्षामा सहभागी भएका विद्यार्थीका अभिभावकलाई समेत कमजोर पक्षका बारेमा जानकारी गराउने र आवश्यकता परेमा छोराछोरीको उत्तरपुस्तिका समेत देखाएर सुधारका लागि अनुरोध गर्ने गरिएको छ । भौतिक संरचना, शिक्षक दरबन्दीको अभाव लगाएतका कारण आवेदन दिएका सबै विद्यार्थीलाई भर्ना गर्न असमर्थ रहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सम्मरबहादुर थापाले बताए ।‘यो रहर नभई बाध्यता हो,‘प्रयाप्त संरचना र जनशक्ती भए ठुलो संख्यामा विद्यार्थी भर्ना लिन सकिन्छ’ अध्यक्ष थापाले भने ।

विगत डेढदशकदेखि विद्यालयले प्रवेश परीक्षा लिने गरेको छ। विद्यालयले अपाङ्ग, विपन्न परिवार,द्धन्द्धपीडितलाई कोटा समेत छुट्टाएको छ । विद्यालयको नाममा रहेका ५ रोपनी जग्गामा करिब ३ रोपनीमात्रै प्रयोग भइरहेको छ । सामुदायिकमा अंग्रेजी माध्यममा राम्रो पढाई हुन थालेपछि महँगो शुल्क तिरेर पढाउन बाध्यता नभएको अभिभावकको भनाई छ ।

बेनी नगरपालिका–६ का दिनेश खत्रीले सामुदायिक भित्रको वातावरण देखेर छोरालाई भर्ना गर्न आएको बताए । उनले प्रवेश परीक्षाका लागि निरन्तर अतिरिक्त तयारी समेत गरेर ल्याएको बताए ।

नेपाल सरकार शिक्षा मन्त्रालयले बि.स २०७० सालमा नेपालकै सर्वोत्कृष्ट सामुदायिक विद्यालय घोषितसँगै आर्थिक वर्ष २०७९–०८० मा नेपाल सरकार शिक्षा तथा मानव स्रोत विकास केन्द्रको अनुसन्धान तथा गुणस्तर सुधार शाखालेगरेको मूल्याङ्कनमा बेनी सामुदायिक देशभरका विद्यालयमध्ये सातौँ उत्कृष्ट विद्यालयका रूपमा घोषित भएको थियो । विद्यालयमा हालसम्म देशभरबाट १ सय ६८ विद्यालयले अवलोकन भ्रमण समेत गरेका छन् ।

 

Leave a Reply