म्याग्दी जिल्लाकै पुरानो शैक्षिक संस्था प्रकाश माध्यमिक विद्यालय पछिल्लो समय जिल्लाकै उत्कृष्ट शैक्षिक गन्तव्य बन्दै गएको छ । पछिल्लो समय विद्यालयले शैक्षिक, खेलकुद तथा अतिरिक्त क्रियाकलापमा हासिल गरेकाे उत्कृष्टताले विद्यार्थी र अभिभावककाे पहिलो राेजाइमा पर्दै गएको हाे ।

“सबै बालबालिकाकाे विद्यालयमा सहभागिता-गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता” भन्ने नाराका साथ शैक्षिक सत्र २०८१ का लागि वैशाख २ गतेदेखि शुरु भएको भर्ना अभियानको छाेटाे समयमा बालविकासदेखि कक्षा नाैसम्म ११८ जना नयाँ विद्यार्थी भर्ना भएका छन् ।

“दाेस्राे चरणकाे भर्ना जारी रहेको” सहायक प्रधानाध्यापक एवम् प्रवक्ता विनय श्रेष्ठले बताउनु भयो । राष्ट्रिय परीक्षा बाेर्डद्वारा २०७९ मा सञ्चालित एसइइ परीक्षामा समीर सुवेदीले ४.० जिपिए प्राप्त गर्नु, ३१ स्वर्ण मध्ये २२ स्वर्ण पदक सहित ६१ जना सहभागी भै ६१ जनाले नै पदक प्राप्त गरि लगातार दुईपटक राष्ट्रपति शिल्ड विजेता बन्दै खेलकुद एवम् नृत्य, हाजिरी जवाफ, निबन्ध, चित्रकला, वक्तृत्वकला लगायत अतिरिक्त क्रियाकलापमा नगर, जिल्ला हुँदै प्रदेश स्तरसम्म उत्कृष्टता हासिल गर्न सफल भएकोले नै यस विद्यालयप्रति आकर्षण बढ्दै गएको हाे ।

एसइइ २०७८ मा समेत प्रेम श्रेष्ठले ३.९० जिपिए प्राप्त गरी सामुदायिक विद्यालयतर्फ साविककाे धाैलागिरी अञ्चल प्रथम भएका थिए । विद्यार्थी भर्नाको चाप थेगी नसक्नु भएकोले प्रवेश परीक्षाकाे व्यवस्था गरिए तापनि कुनै पनि वर्ग, समुदाय र भूगाेलका बालबालिकालाई क्षमता अनुसारको सेक्सन विभाजन गरि अध्ययन गर्ने व्यवस्था गरिएको विद्यालयका प्रधानाध्यापक लेखबहादुर हमालले बताउनु भयो ।

कक्षा ११ र १२ मा विज्ञान विषयसहित सबैभन्दा बढी विषय अध्यापन हुने प्रकाश माध्यमिक विद्यालयमा दक्ष र अनुभवी शिक्षकहरूद्वारा अंग्रेजी र नेपाली दुबै माध्यममा अध्यापन हुँदै आएको छ । साना बालबालिकाहरूलाई खेल सामग्रीसहित छुट्टै मन्टेसरी र बालविकास कक्षा रहेको छ ।

भाैतिकरुपमा सुविधासम्पन्न सो विद्यालयले सुविधा सम्पन्न विज्ञान प्रयाेगशालन, स्टिम  ल्याब, कम्युटर ल्याब, पुस्तकालय र आईसिटी कक्षाको व्यवस्था गरेकोे छ । विद्यालय परिसरमा नै चमेनागृह (क्यान्टिन) रहेकाे विद्यालयले मन्टेसरीदेखि कक्षा ५ सम्म निःशूल्क खाजा, झाेला र पाेसाक वितरण गरेको साथै विद्यार्थीकाे स्वास्थ्य उपचारका लागि विद्यालय नर्स सहितको स्वास्थ्य सहायता कक्ष समेत रहेको छ ।

विद्यालय परिसरमा सिसि क्यामेरा जडान भएको र चाैबिसै घण्टा सुरक्षा गार्डको व्यवस्था रहेकोले विद्यार्थीहरूले सुरक्षित महशुस गर्ने वातावरण तय भएको छ । विद्यार्थीकाे व्यक्तिगत प्रतिभा प्रष्फुटनका लागि खेलकुद र नृत्य प्रशिक्षककाे व्यवस्था गरेको विद्यालयले गत वर्ष परम्परागत सीप हस्तान्तरण अन्तर्गत पञ्चे बाजा तालिमसमेत सम्पन्न गरेको थियोे । 

शैक्षिकसत्र २०८० मा मन्टेसरीदेखि कक्षा १२ सम्म ११३८ विद्यार्थी अध्ययनरत थिए । कक्षा ८ उत्तीर्ण गरी समयमै एसइइ पूरा नगरेका विद्यार्थीहरूलाई खुला विद्यालयकाे व्यवस्था रहेको छ । शैक्षिकसत्र २०८० मा नियमिततर्फ ९७ जना र खुला विद्यालयतर्फ २७ जना एसइइ परीक्षामा सामेल भएका थिए ।

विद्यालयका सहायक प्रधानाध्यापक टेकप्रसाद सुवेदीले जिल्लाका जनप्रतिनिधिहरू, प्राध्यापक, शिक्षक, कर्मचारी, व्यापारी र पत्रकार वर्गका सन्ततिहरू, सामुदायिक तथा निजी विद्यालयमा पढिरहेका विद्यार्थीहरू समेत भर्ना हुन आएको जानकारी दिनुभयो । “विद्यालयप्रति वहाँहरुको विश्वासलाई कायम राख्नु हाम्रो मुख्य चुनाैती हो,” सुवेदीले भन्नुभयो । झण्डै एक सय वर्षको इतिहास बोकेको प्रकाश माध्यमिक विद्यालयले विद्यार्थी र अभिभावकको आवश्यकतालाई मध्यनजर गरी समयसमयमा तहगत र विषयगत वृद्धि गर्दै आएको छ ।

Leave a Reply