---Advertisement---

म्याग्दीमा डढेलोले सात सय हेक्टर वन सखाप

On: April 23, 2024 8:49 AM
Follow Us:

म्याग्दीमा वैशाख महिनाको पहिलो सातासम्म झण्डै सात सय हेक्टर क्षेत्रफल वन क्षेत्र आगलागीले जलेर खरानी बनेको छ। जिल्लाभर ५९ सामुदायिक वनमा भीषण आगलागी भएको डिभिजन वन कार्यालयको तथ्यांकले देखाएको छ।

भिरालो क्षेत्रमा लागेको डढेलोले ग्रामीण वस्तीलाई नै त्रसित बनाइरहेको छ। वन क्षेत्रमा फैलिएको आगलागीले निस्केको धुँवाले जिल्लामा पछिल्लो एक महिनायता वायु प्रदूषण बढेको छ। प्रदेश वन निर्देशनालयले गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी म्याग्दीमा ६ सय ९३ हेक्टर वनक्षेत्र ध्वस्त भएको जनाएको छ। आगलागीले सदरमुकाम बेनीबजारनजिकै रहेको बराहपाखो सामुदायिक वनदेखि जिल्लाका सबै स्थानीय तहका सामुदायिक र राष्ट्रिय बनक्षेत्र उजाड र नांगो भएको छ।

जिल्लाको अन्नपूर्ण, मंगला, मालिका, धवलागिरी र रघुगंगा गाउँपालिकाका विभिन्न वन क्षेत्रमा दिनहुँआगजनी भइरहेको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख विष्णु अधिकारीले बताए।

‘दैनिक आगलागी हुने बन थपिँदैछ, मानवीय कारणले हुने घटना रोक्न सचेतनामूलक अभियानले मात्रै सम्भव भएको छैन,’ अधिकारीले भने। उनका अनुसार आगलागी नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षाकर्मीलाई उपकरण वितरणसहितका कार्य गरिएको बताए।

नयाँ घाँस पलाउने आसमा डढेलो लगाउँदा साना तथा ठूला सयौं रूख बिरुवा जलेर नष्ट भएको प्रमुख अधिकारीको भनाइ छ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।