वैशाख पहिलो साता वितिसक्दा पनि पानी नपरेपछि मकै छर्न नपाएर म्याग्दीका किसानहरु चिन्तित छन् । लामो खडेरीले खेतबारीमा लगाएका तरकारी र खेतमा लगाएको मकै सुक्न थालेको छ भने जंगलमा लागेको डढेलोले वन जंगल उजाडिएको छ । पानीका मुहानहरु सुकेका छन् । गाउँमा खानेपानीको समयस्या उत्पन्न हुनुका साथै वायु प्रदूषणका कारण विरामीहरु बढेका स्थानीयले वताएका छन् ।

हिउँद याममा राम्रोसँग हिमपात र वर्षा नभएपछि गहुँ, जौ लगाएत हिउँदेवाली पनि राम्रोसँग उत्पादन नभएको मालिका गाउँपालिका २ का किसान टेकबहादुर विकले बताउनुभयो । “हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन् । हिमपात र वर्षा नहुँदा बेंसीबाट हिमाली क्षेत्रसम्म गरिएको हिउँदेबाली खेतबारीमै सुक्न थालेको छ” विकले भन्नुभयो ।

“वर्षा र हिमपात नभएपछि सिंचाइको अभावले गहुँ, जौं लगायतका हिउँदे वाली पनि राम्रोसँग उत्पादन भएन । अहिले खडेरी परेको छ, बारीमा मकै छर्न पाएका छैनौं । यस्तै भयो भने त भोकमरीले मरिने भयो” मंगला गाउँपालिका ५ का किसान टीका पौडेलले गुनासो गर्नुभयो ।

लामो समयदेखि पानी परेको छैन । मौसम तातिरहेको र गर्मीले अलासतलास बनाइरहेको, किसानहरु वारीमा मकै छर्न नपाएर छट्पटाइरहेका राष्ट्रिय जनमोर्चा म्याग्दीका पूर्व अध्यक्ष समेत रहनुभएका मालिका गाउँपालिका ६ का कृषक छवि विश्वकर्माले बताउनुभयो ।

“विपत्ति शुरु भएको छ । पाँच महिनादेखि राम्रोसँग पानी परेको छैन । खेतमा छरेका मकै खेतमा नै सुकेको छ ।वारीमा मकै छर्न नपाएर किसान चिन्तित छन् । तरकारी र फलफूलका विरुवा मर्न थाले । वनजङ्गल डढेलोले ध्वस्त भएका छन् । खानेपानीका मुहानहरु सुकिराखेका छन । स्थिती हामीले सोचेभन्दा जटिल हुँदै गएको छ” उहाँले भन्नुभयो ।

हिमपात नभएपछि हिमशृंखला कालापत्थर देखिन थालेका छन् । हिउँले सेताम्मे ढाकिनुपर्ने हिमाल हिमपात नभएको र पग्लिएर नाङ्गिन थालेका छन् । यस वर्ष कम हिमपात हुँदा मिालमा हिउँ पग्लिएर हिउँको मात्रा घट्दै गएका छन् । जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्षरूपमा पारेको स्थानीयवासीको भनाइ छ ।

पर्याप्त मात्रामा हिउँ नपरेपछि यतिबेला धवलागिरि, नीलगिरि, अन्नपूर्ण, गुर्जा, चुरे लगायतका हिमाल रङ उडेझैं फिक्का देखिन थालेका छन् । । हिमपात नहुँदा हिमालमा हिउँको मात्रा घट्दै जाँदा हिमाल काला पहाड जस्ता देखिन थालेको र जंगली फूलहरूमा समेत त्यसको प्रभाव देखिएको किसानहरुले बताएका छन् ।
आकाश खुल्न सकेको छैन । जताततै डढेलो लागेपछि तुवाँलोले वातावरण विशाक्त बनेको छ । घाम नलागेपनि गर्मी बढेको छ ।
जलवायु परिवर्तनको असर हिमालमा मात्रै होइन, जंगली फूलहरूमा पनि देखिन थालेको छ। चैत–वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष पुसदेखि नै फुलेको देखिएको छ ।

“मौसम परिवर्तन हुँदै गएको छ, खडेरीको कारण जनजीवन अस्तव्यस्त बनेको छ । बाली खेतबारीमा नै मर्न थालेपछि किसान के खाएर वर्ष विताउने भन्ने चिन्तामा छन्” स्थानीय जनप्रतिनिधिहरुको भनाइरहेको छ ।

मकैबाली लगाउने याम घर्कीसकेको छ । वर्षा नहुँदा बाँझै रहेका खेत जोत्नसमेत नपाइएको किसानले गुनासो गरेका छन् । व्यावसायिक तरकारी खेती गरेका किसानले खडेरीका कारण उत्पादनमा कमी आउने गुनासो गरेका छन् ।
लामो समयको खडेरीले किसानलाई बाली लगाउन र लगाएका बालीको संरक्षणमा समस्या भएको कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो । उहाँका अनुसार गत असोजको अन्तिम सातापछि यस क्षेत्रमा राम्रोसँग वर्षा भएको छैन ।

कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार विशेषगरी हिउँदे बालीनालीमा खडेरीले असर पु-याएको छ । सिँचाइ सुविधा भएका र नभएका दुवै स्थानमा उत्पादनमा निकै कमी आएको केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सञ्जिव वाँस्तोलाले बताउनुभयो ।

म्याग्दीमा आकाशे वर्षाको भरमा खेतीबाली लगाउने ठाउँ धेरै भएकाले पनि यस वर्षको हिउँदे खेतीका रुपमा लगाइएका गहुँ, जौ, तोरी, आलु, फापरलगायत व्यावसायिक तरकारी खेती गर्नेहरुले ठुलो नोक्सानी व्यहोर्नुपरेको केन्द्रले जनाएको छ । तेलहन बालीमा मात्र २५ प्रतिशतभन्दा बढीले उत्पादनमा कमी आएको कृषि प्राविधिकहरु बताउँछन् । त्यसैगरी लहरेबाली समयमा लगाउन नपाउँदा व्यावसायिक तरकारी किसान मारमा परेका छन् ।
बालीनाली सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । अर्कोतर्फ पानीको वैकल्पिक स्रोतसमेत खडेरीका कारण सुकेपछि चैते धानका लागि बीउ राख्नसमेत नपाएको किसानले गुनासो गरेका छन् ।

Leave a Reply