---Advertisement---

म्याग्दीमा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि, २१ करोड बढीको कारोबार

On: April 25, 2024 7:47 AM
Follow Us:

म्याग्दीमा यसवर्ष सुन्तला उत्पादनमा भारी वृद्धि भएको छ । विगतको तुलनामा यसवर्ष जिल्लाभर कुल ३६ सय मेट्रिक टन सुन्तला बिक्रीबाट २१ करोड ६० लाख रुपैयाँको कारोबार भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

गतवर्ष १७ करोड रुपैयाँभन्दा बढीको सुन्तला उत्पादन र बिक्री भएको थियो । कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार बेनी नगरपालिका क्षेत्रबाट मात्रै यसवर्ष तीन करोड ३८ लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन तथा बिक्री भएको छ ।

यसैगरी मालिका गाउँपालिकाबाट एक करोड ३६ लाख, अन्नपूर्ण गाउँपालिका र मंगला गाउँपालिकाबाट क्रमशः एक करोड ३० लाख रुपैयाँको दरले सुन्तला बिक्री वितरण भएको छ ।

त्यस्तै धवलागिरि गाउँपालिकाबाट ३० लाख ७० हजार तथा रघुगंगाबाट २५ लाख रुपैयाँको सुन्तला बिक्री भएको कृषि ज्ञान केन्द्र म्याग्दीका सूचना अधिकारी सम्झना शर्माले जानकारी दिनुभयो ।

उहाँले बेनी नगरपालिका–३ नम्बर वडा भकिम्ली, मरेक र राखु क्षेत्रबाट मात्रै दुई करोड २० लाख रुपैयाँको सुन्तला कारोबार भएको बताउनुभयो । बेनपा–४ को सिङ्गास्थित थामडाँडा, बास्कुना र सुर्केमेलाबाट एक करोड १० लाख, १० नम्बर वडा घतानको तोरीपानीबाट दुईलाख र ६ नम्बर वडाको अर्थुङ्गे क्षेत्रबाट एकलाख रुपैयाँ बराबरको सुन्तला उत्पादन र बिक्री भएको छ ।

जिल्लामा कुल ८ सय १० हेक्टर क्षेत्रफलको जमिनमा सुन्तला खेती गरिएकोमा ४ सय २० हेक्टरमा लगाइएको सुन्तलाले उत्पादन दिएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बास्तोलाले बताउनुभयो ।

सुन्तलाको प्रतिहेक्टर ८ दशमलव ६ मेट्रिक टन उत्पादकत्व रहेको छ । अनुकुल मौसम, रोग तथा किराको प्रकोप नियन्त्रण, किसानलाई बिऊमल, विषादी, कृषि औजार एवं सामग्रीमा अनुदान सहयोग तथा क्षेत्रफल विस्तारले सुन्तलाको उत्पादन बढेको जनाइएको छ ।

स्थानीय पालिका र सुन्तला जोनको कार्यक्रम तथा कृषि ज्ञान केन्द्रबाट सञ्चालित योजना र कार्यक्रमहरुले पनि सुन्तलाको क्षेत्रफल विस्तार हुनुका साथै उत्पादनमा वृद्धि भएको हो ।

म्याग्दीका किसानहरुले स्थानीय लोकल जातको सुन्तला लगाउँदै आएका छन् । यहाँका किसानहरुले सहकारी, कृषि समूह तथा एकल रुपमा सुन्तलाको व्यावसायिक खेती गरिरहेको बताएका छन् ।

म्याग्दी जिल्लामा उत्पादित सुन्तला सदरमुकाम बेनीबजार हुँदै पर्वत, बागलुङ, पोखरा, चितवन, धादिङ, काठमाडौं, भैरहवा लगायतको बजारमा पुग्ने गर्दछ । परम्परागत रुपमा लगाइने खाद्यान्न बालीको खेती छाडेर म्याग्दीका किसानहरु पछिल्लो समय व्यावसायिक सुन्तलाजात फलफुल खेतीतर्फ आकर्षित भएका छन् ।

एक नगरपालिकासहित छ वटा स्थानीय तह रहेको म्याग्दीमा भकिम्ली, मरेक, राखु, बास्कुना, कुहुँ, भर्जुला, बराङ्जा, भोर्लेनी, अर्मन, विम, ओखरबोट, देवीस्थान, ताकम, हिलापोखरी, मुदी खाम्ला, राखु, वेगखोला, दोवा, दाना, नारच्याङ, हिस्तान, दोसल्ले, घारलगायत क्षेत्र सुन्तला उत्पादनको हिसाबले पकेट क्षेत्र मानिन्छन् ।

प्रताप बानियां

प्रताप बानियां बेनीअनलाइनका संवाददाता हुनुहुन्छ।