स्वास्थ्य कार्यालय म्याग्दीमा रगतको नमूनालाई परीक्षण गर्ने प्रयोगशाला र ल्याब टेक्निसियन नहुदाँ समस्या भएको छ । औलोको पहिचान गर्न समुदायस्तरमै पुगेर रगतको नमूना संकलन तथा परीक्षण गर्नुपर्ने भएपनि जनशक्ती र पूर्वाधारको अभावका कारण अभियान प्रभावित बनेको छ ।
विश्व औलो दिवसको अवसरमा स्वास्थ्य कार्यालय म्याग्दीले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा म्याग्दीको ६ वटै स्थानीय तहमा कुल २ लाख ६ हजार ७०४ जनसंख्यामा बार्षिक १४ सय जनाको नमुना परीक्षणका लागि ल्याब टेक्निसियन र परीक्षणका लागि प्रयोगशालाको आवश्यकता रहेको कार्यालय प्रमुख भुवन ठकुराठीले बताउँछन् ।
म्याग्दीमा आयातित औलोको बिरामीको जोखिम रहेकाले सम्भावित क्षेत्रमा नमुना संकलनमा समेत जनशक्तीको अभावले प्रयोगशालाबाट प्रमाणित औलो रोगीको पहिचानमा समस्या भएको बताए । म्याग्दीमा बेनी अस्पताल, प्राथमिक उपचार केन्द्र दरबाङ बाहेक अन्नपूर्ण गाउँपालिकामा २,रघुगंगा गाउँपालिकामा २,मालिका गाउँपालिकामा १ र धवलागिरी गाउँपालिकामा १ प्रयोगशाला रहेको छ भने मंगला गाउँपालिकामा छैन ।
दक्षिण एशियामा औलोको उच्च जोखिममा रहेको भारतबाट धार्मिक तथा रोजगारीका लागि म्याग्दीमा बर्षेनी ठूलो संख्यामा भित्रिने गरेकाले जोखिममा रहेको स्वास्थ्य कार्यालयका गणेश सुबेदीले बताए । गण्डकी प्रदेशमा आर्थिक बर्ष २०७७÷०७८ मा १२ जना, ०७८÷७९ मा १३ जना र ०७९÷०८० मा २६ जना अन्य देशबाट आएका बिरामीको पहिचान भएको थियो ।
यो रोग संक्रमित पोथी एनोफिलिज नामक लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ। यो रोगको जोखिममा मुख्यतया गर्भवती महिला तथा पाच वर्ष मुनीका बालबालिका रहने गरेका छन् । टाउको दुख्नु, बान्ता र ज्वरो आउनु यसका प्रमुख लक्षण हुन्। समयमै उपचार नगरेमा मलेरियाकै कारण ज्यानसमेत जान सक्छ ।