बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको झण्डै २२ करोड बराबरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) खानेपानी मन्त्रालयले स्वीकृत गरेको छ ।

१८ बर्ष अगाडी बेनीबजारमा वितरणका लागि बनाइएको पाइपलाइनको डिजाइन परिवर्तनसँगै, नयाँ पाइप विस्तार लगायतका उपभोक्ताको घरदैलोमा पुर्याउने खानेपानीलाई सहज बनाउन तयार गरिएको २१ करोड ७४ लाखको डिपिआर खानेपानी मन्त्रालयले स्वीकृत गरेको संस्थाका अध्यक्ष रमेश गिरीले बताउनुभयो । ‘डिपिआर स्वीकृत भएको छ, आगामी बजेटमा बजेट सुनिश्चितता हुने जानकारी आएको छ’ अध्यक्ष गिरीले भन्नुभयो।

उहाँका अनुसारपूरानो पाइपलाइन परिवर्तन, बेनीबजारको माथिल्लो क्षेत्रमा रहेको पाइपलाइनलाई कालिगण्डकी र म्याग्दी नदी आसपासका क्षेत्र हुदै विस्तार गरिने,बजारभित्रमा तत्कालिन खानेपानी कार्यालयले बि.स २०५२ सालमा विस्तार गरेको पाइप समेत परिवर्तन समेत गरिने छ ।

४ र ६ इन्चको दुईवटा पाइपलाई परिवर्तन गरी ८ इन्चको एउटै पाइप थपिने छ । बेनीबजारको माथिल्लो क्षेत्रमा खानेपानीको वितरणमा देखिएको समस्या समाधान समेत हुने खानेपानी संस्थाले जनाएको छ।

बेनी–जोमसोम–कोरला सडक विस्तारको क्रममा निरन्तर पाइपलाइनमा क्षती तथा डल्लेपिपलदेखि क्याम्पसचोक हुदै ट्यांकीमा ल्याइएको खानेपानीको पाइपले बजार क्षेत्रलाई जोखिम देखिएपछि सम्रग समस्यालाई समाधान गर्ने गरी डिपिआर बनाइएको निर्वतमान अध्यक्ष माधबप्रसाद रेग्मीले बताउनुभयो ।

डिपिआर सहित बजेटको सुनिश्चितताका लागि संघीय सांसद खमबहादुर गर्बुजा, पूर्वमन्त्री थममायाँ थापा, पुर्व सांसद भुपेन्द्रबहादुर थापा, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, नेपाली कांग्रेसका नेता एवम् संस्थाका निर्वतमान अध्यक्ष माधबप्रसाद रेग्मी, नेकपा एमाले गण्डकी प्रदेश सदस्य एवम् संस्थाका पूर्व अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष बालकृष्ण सुबेदी, संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना म्याग्दीका प्रमुख सुमन थापा,संस्थाका पुर्व अध्यक्ष सुवासकुमार श्रेष्ठ, कोषाध्यक्ष टंक हमाल लगायतको टोलीले संघीय खानेपानी मन्त्री राजेन्द्रकुमार राई, खानेपानी विभागका डिजी कमलराज श्रेष्ठलाई भेटेर डिपिआर सहित योजना छनौटको प्रस्ताव गरिएको थियो ।

बेनी खानेपानीले सदरमुकाम बेनीबजार आसपासको क्षेत्रमा बासोबास गर्ने २२ हजार जनसंख्यालाई नियमित शुद्ध पिउनेपानी वितरण गदै आइरहेको छ। ग्रामीण क्षेत्रबाट तीव्र बसाइँ सराइका कारण बढ्दो जनसंख्याको चापले खानेपानीको अभाव महशुस गरी बि.स २०६३ सालमा करिव ५ करोडको लागतमा सुरू गरिएको खानेपानी संस्थामार्फत बेनीबजार क्षेत्रका ११ सय १४ घरधुरीमा धारा जडान गरिएको छ ।

वि.स २०६३ सालमा ४ करोड ९३ लाख, २०७३ सालमा ६ करोड १५ लाख गरी कुल ११ करोड ५ लाखको र चालु आवमा निर्माणाधिन बेनी गुणस्तर सुधार खानेपानी आयोजनामा ५ करोड ८२ लाख लागतमा सञ्चालित आयोजनाले नगर विकास कोषबाट सहुलियत कर्जा लिएरप्रति सेकेन्ड २० लिटर क्षमताको पानी भण्डारण र शुद्धिकरण गर्ने सेडिमेन्टेसन टंकी र स्लो स्याण्ड फिल्टर टंकीको निर्माण गरिएको थियो ।

जिल्लाको अन्नपूर्ण गाउँपालिका–८ राम्चेको पुम्दीखोला, रिठ्ठाखर्क, डाँडाखर्क, दुधे र कोप्रे खोलाबाट प्रति सेकेण्ड २० लिटर आपुर्ती गर्न सक्ने अवस्थामा पुगेको छ भने खडेरी, पाइप फुटेको, पहिरोका कारण आपूर्ति बन्द भई हाहाकार मच्चिने समस्या हटाउन म्याग्दी नदीको पानी तानेर बेनी बजारमा वितरण गर्न थालिएको छ ।

 

Leave a Reply