कालिगण्डकी करिडोरमा सञ्चालित होटल व्यवसायी र मजुदरलाई स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाहका सम्बन्धमा म्याग्दीको बेनी नगरपालिका-९,गलेश्वरस्थित होटल याकमा दुई दिने ‘स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाहसम्बन्धी’ तालिम सुरू भएको छ।

गण्डकी प्रदेशको ’लाइफलाइन’ मानिएको उत्तर–दक्षिण अन्तरदेशीय मार्ग अन्तरगत कोरला–त्रिवेणीमा पर्यटन क्षेत्रलाई थप पर्यटकमैत्री बनाउने र यस क्षेत्रमा कार्यरत जनशक्तिलाई खाद्य स्वच्छताका बारेमा जानकारी गराउन आयोजित तालिमको बेनी नगरपालिकाका मेयर सुरत केसीले उद्घाटन गदैं राम्रो खाना र आतिथ्यता पर्यटनका लागि अपरिहार्य आवश्यकता रहेको बताउनुभयो ।

‘सेवा र व्यवहारले पर्यटकलाई आकर्षत गर्न सकिन्छ, यो तालिमका उपलब्धीलाई व्यवहारमा उतार्नुपर्छ’ मेयर केसीले भन्नुभयो ।म्याग्दीमा पूराना बाहेक पूर्वाधार पुगेका पर्यटकीय सम्भावनाको दृष्टिले अत्यन्त सम्भावनायुक्त भएको मेयर केसीको भनाई थियो ।

कालिगण्डकी करिडोर क्षेत्रले हिमाल र पहाडलाई तराईलाई जोड्ने भएकाले यस क्षेत्रको पर्यटन पूर्वाधारको प्रचारप्रसारमा समेत जोड दिइएको थियो ।

होटल व्यवसायी महासंघ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको संयुक्त आयोजनामा कोरिडोर क्षेत्रमा पर्ने पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा सञ्चालित होटल व्यवसायी, होटलमा कार्यरत कामदार र कर्मचारी गरी ६० जनाको सहभागिता रहेको तालिममा होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले गण्डकी प्रदेशलाई भारतीय सीमासँग जोड्ने एक मात्र नाका कालिगण्डकी करिडोर क्षेत्रको होटल ब्यवसायले नेपालको पर्यटन क्षेत्रमा ठूलो योगदान दिएको बताउँदै कोरला–त्रिवेणी खण्डमा पर्ने होटल ब्यवसायी र कर्मचारीलाई खाद्य स्वच्छता, सरसफाइ र पोसाक, पर्यटकमैत्री व्यवहार तथा आचरण, व्यवसायमा प्रविधिको प्रयोग, व्यवसायी र कर्मचारीबीच सम्बन्ध, व्यवसायको प्रचारप्रसार र प्रवद्र्धन, स्थानीय उत्पादनको व्यावसायीकरण लगायत विषयमा सिकाइने बताउनुभयो ।

नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पोखराका प्रिन्सिपल प्रकाश रेग्मी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अधिकृत ज्योति आचार्य, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका लेखा अधिकृत सागर श्रेष्ठ लगायत विषय विज्ञहरुले तालिमको सहजीकरण गर्नेछन् ।

होटल तथा रेष्टुरेन्ट ब्यवसाय संघ म्याग्दीका कार्यवाहक अध्यक्ष ललिन्द्र थापामगरले साना तथा मझौला व्यवसायी तथा कामदार लाईस्वच्छता र पर्यटकमैत्री व्यवहारका बारेमा सिकाउने महत्वपूर्ण तालिम सञ्चालन भएको बताउनुभयो ।

तालिम उद्घाटन सञमा बेनी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, वडा नं ८ का अध्यक्ष उत्तमकुमार कर्माचार्य, होटल ब्यवसायी संघका केन्द्रिय सचिव ताराप्रसाद आचार्य, म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेश शाक्य लगायतको उपस्थिती रहेको थियो ।होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशका महासचिव देवेन्द्र लम्सालले तालिमका बारेमा जानकारी सहित उद्घाटन सत्र सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply