सुरेन गुरुङ/म्याग्दीको पहिचानको रुपमा चिनिएको लोपउन्मुख मौलिक पुख्यौली नाच प्रतियोगिताको उपाधी अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाले जितेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा गाउँपालिका स्थापना भएपछि पहिलो पटक आयोजना गरिएको सर्वाधिक पुरस्कार राशीको पुख्यौली  प्रतियोगितामा वडा नम्बर १ दोवा द्धितिय र भुरुङ तातोपानी मैत्री समाज पोखरा तृतीय भएका छन् ।

प्रथम, दितृय र तृतीय हुने समूहलाई अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, वडा अध्यक्ष ओमप्रकाश फगामी लगायतले क्रमश नगद रु. ७५ हजार, ६० हजार र ४५ हजारका दरले पुरस्कार वितरण गर्नुभयो । ३ दिनसम्म सञ्चालन भएको १२ समूहले सहभागिता जनाएका थिए ।

मादलेमा अन्नपूर्ण गाउँपालिका–७ रिमा, मारुनीमा वडा नम्बर ५ शिख, हाइमार्नेमा पाउद्धार, भाका लय र शब्दमा काफलडाडा, पोशाकमा वडा नम्बर–४ नारच्याङ उत्कृष्ट भए भने वडा नम्बर २ भुरुङ तातोपानीले अनुशाषित समूहको उपाधी पाएका छन् ।

प्रतिभा पुन, डम्मर पुर्जा र लालबहादुर पुनको निर्णायक मण्डलले नृत्यको मूल्याङ्कन गर्नुभएको थियो । पुन, मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुख्र्यौली नाचको संरक्षण र प्रचारप्रसारका लागि भूमे पुजाको अवसरमा भुरुङ तातोपानीको वडा कार्यालयले पुख्र्यौली नाच प्रतियोगिता आयोजना गरेको हो । नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने माध्ययमका रुपमा प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका मुल संयोजक समेत रहेका वडा अध्यक्ष ओमप्रकाश फगामीले बताउनुभयो । प्रतियोगितामा सहभागि पुख्र्यौलीनाचहरुमा अन्नपूर्ण गाउँपालिकाका विभिन्न वडाका जनप्रतिनिधि, आमा समूह, युवायुवति, बालबालिका र बृद्धबृद्धा समेतले सहभागिता जनाएका थिए ।

अन्नपूर्ण गाउँपालिकाले रु ३ लाख बिनियोजन गरेको प्रतियोगिता सञ्चालन गर्न स्वदेश तथा विदेशमा रहेका भुरुङ– तातोपानीवासीको नेतृत्वमा रु. १९ लाख सहयोग जुटेको छ । अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनमगरले समुदायको सांस्कृतिक पहिचानको रुपमा रहेको पुख्र्यौली नाच अन्तरपुस्ता हस्तान्तरणको लागि प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । आगामी वर्षको नीति तथा कार्यक्रममा कला संस्कृति र सांस्कृतिक क्षेत्रलाई प्राथमिकता राखिने बताउँदै मौलिक कला र संस्कृतिको विकास, प्रवर्द्धन र प्रचारप्रसार गरिने बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले पर्यटकीय सम्भावनाले भरिपूर्ण अन्नपूर्ण गाउँपालिकामा रहेका कला र संस्कृतिलाई सांस्कृतिक पर्यटनको माध्यमबाट स्थानीयको आयआर्जन वृद्धि र जीवनस्तर सुधारमा गाउँपालिकाले जोड दिएको बताउनुभयो । म्याग्दीको थाली र पुख्यौली नाच सांस्कृतिक पहिचानको रुपमा चिनिन्छ ।

Leave a Reply