चरम गरिबीसँग जुधेर पनि पढाइमा अब्बल छिन् म्याग्दीको बेनी नगरपालिका-६,डम्बराकी १२ वर्षीया सृष्टि विक । जन्मदिने आमाबुबाले छाडेर गएपछि माइतकी हजुरआमा जानकी विकसँग बस्दै आएकी सृष्टि बेनपा-२,बगरफाँट स्थित सरस्वती आधारभुत विद्यालयमा कक्षा ६ मा अध्ययनरत छिन् ।

https://youtu.be/e0pPzV5TJE0

नौ महिना कोखमा बास गराएर संसार देखाउने आमार बुबाको माया पाउन नसकेकी उनी अभावै-अभावमा हुर्किएपनि पढाइमा अब्बल दर्जामा उभ्याएकी छिन् । जेहन्दार,अध्ययनशील र अनुशासित सृष्टिलाई बस्ने ठाउँमा पढ्ने उचित वातावरण नै छैन ।

चरम गरिबीसँग जुधेर भए पनि डाक्टर बन्ने सपनालाई पूरा गर्ने मेहनत गरेको बताउँछिन्।‘आमाबुबाले छोडेर जानुभयो, हजुरआमाले मजदुरी गरी खान दिनुहुन्छ,छोडेर गएका आमाबुबालाई राम्रो पढेर देखाउने रहर छ’ सृष्टिले भनिन् ।

उनले आमाबुबाको साथ र सहयोग नपाएको भन्दै अर्को जुनीमा आमाको कोखमा छोरा भएर जन्मिने चाहना रहेको बताइन्। ‘मलाई छोरी भनेर कहिल्यै फोन आउँदैन्, मेरोलाई सबै हजुरआमा मात्रै हुनुहुन्छ’सृष्टिले भनिन् ।

उनले भविस्यमा इन्जिनियर र गीत गाउने रहर भएको बताउँदै आफ्नै पीडाले भरिएको गीत विद्यालयका कार्यक्रमहरूमा गाउने गरेको बताइन् । विद्यालयका प्रधानाध्यापक छमप्रसाद गर्बुजाले विहानबेलुकी दुई छाक पेटभरी खान नपाउने, शैक्षिक साम्रागीको अभावका बिच पनि नियमित विद्यालय आउने गरेको बताए ।

‘सहयोग पाएमा सृष्टिको भविस्य सुन्दर छ, विद्यालयकै नमुना विद्यार्थी भित्र पर्छिन’ प्रअ गर्बुजाले भने । उनले पढ्ने वातावरण, अतिरिक्त कक्षा सहित उपयुक्त रेखदेख भएमा उनको सपना पूरा गर्न सहज हुने प्रअ गर्बुजाको भनाई छ ।

उनले विद्यालयमा आयोजना गरिने अतिरिक्त क्रियाकलापमा समेत निर्धक्क भएर आमाबुबाले छोडेर गएको पीडा सुनाउँदा विद्यार्थी, शिक्षक समेत भाबुक हुन्छन् ।

अत्यन्त गरिब परिवारका बालबालिकालाई अभिभावकले छोडेर गएपछि शिक्षादीक्षामा संकट परेको छ । शैक्षिक सामाग्रीदेखि बिस्तार र लगाउने लुगा तथा अगेनामा पाक्ने खाद्यान्नसमेत नभएको अवस्थामा भोकभोकै आउन बाध्य विद्यार्थीलाई सहयोग आवश्यक रहेको विद्यालयले जनाएको छ ।

Leave a Reply