भिरमुनी सामुदायिक बनमा आगो लगाउँदै गरेका दिलबहादुर समातिए

0
19

म्याग्दीको बेनी नगरपालिका वडा नं ५ भिरमुनी सामुदायिक बनमा आगो लगाउँदै गरेको अवस्थामा स्थानीयले एक जनालाई नियन्त्रणमा लिएका छन् । पुलाचौर बस्ने ५२ बर्षिय दिपक बानियाँ भन्ने दिलबहादुर बानियाँलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

‘थप कारवाहीका लागि डिभिजन बन कार्यालयलाई जिम्मा लगाइएको छ, कसैले वन जंगलमा आगोलागी गराएमा १०० मा फोन गरी जानकारी दिन समेत अनुरोध गरिएको छ’ प्रहरीले आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट अपिल गरेको छ।

यसअगाडी बेनी नगरपालिका–६को खैरेनी सामुदायिक बनमा आगो लगाउने सोही वडाका एक यूवालाई पक्राउ गरिएको थियो । म्याग्दीमा ३ सय ११ सामुदायिक वनमध्ये १ सय १७ वटाको हाराहारीमा १ हजार हेक्टरमा डढेलोले जलेर खरानी बनेको छ ।

प्रदेश वन निर्देशनालयले गण्डकी प्रदेशका ११ जिल्ला मध्ये सबैभन्दा बढी म्याग्दीको बन क्षेत्रमा क्षती पुगेको तथ्याङ्कले देखाउँछ ।आगलागीले जिल्लाका अधिकांस सामुदायिक र राष्ट्रिय बनक्षेत्र उजाड र नाङ्गो भएको छ ।नयाँ घाँस पलाउने आसमा डढेलो लगाउँदा साना तथा ठूला सयौं रूख विरुवा जलेर नष्ट भएको डिभिजन बन कार्यालय म्याग्दीका प्रमुख विष्णु अधिकारीले बताए ।

सामुदायिक बन क्षेत्रमा अग्नीरेखा सहित आगो फैलिन नदिने गरी विभिन्न योजनाहरू मार्फत समुदायलाई नै तालिमको आवश्यकता रहेको उपभोक्ता समुहको भनाई छ । वन ऐन २०७६ दफा ५० को उपदफा ४ अनुसार वन डढेलो लगाएर कसुर गर्नेलाई क्षति भएको विगो असुल गरि तीनवर्षसम्म कैद वा ६० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ।