म्याग्दीको मंगला गाउँपालिका-१,कुहुँ दिपशिखा माविका छात्राले कक्षाकोठामै आत्मरक्षा सम्बन्धि तालिम दिन थालिएको छ। मंगला गाउँपालिका र सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोग एवं मिलन म्याग्दीको आयोजना र व्यवस्थापनमा सञ्चालित तिनदिने तालिममा सहभागी छात्राको अगुवाइमा कक्षाकोठामा पुगेर सिकेको सीप हस्तान्तरण गर्न सुरु गरेका छन् ।

पालिकास्तरीय तालिममा सहभागी कक्षा ९ मा अध्ययनरत दिया पुन लगायतले शारीरिक प्रहार हुँदा बच्न,अस्वाभाविक छुवाइलाई इन्कार गर्न,गलत नियतको हेराइको प्रतिवाद गर्ने र दुव्र्यवहारको प्रतिकार गर्नका बारेमा अभ्यास सहित सिकाउन थालेको विद्यालयका प्रधानाध्यापक डा.नन्दबहादुर खत्रीको भनाई छ। ‘तालिमलाई निरन्तरता दिन्छौ, आवश्यकता अनुसार अनुभवी प्रशिक्षकबाट पनि सिकाउने वातावरण बनाउँछौ’ प्रअ खत्रीले भन्नुभयो ।

विद्यालयमा आधारभुत तहदेखि कक्षा १२ सम्मका विद्यार्थीलाई कसैले गलत नजरले घुरिरहने, पछ्याउने वा हमला गर्न आए आफूलाई कसरी सुरक्षित राख्ने भन्ने तालिममा सिकेपछि अहिले आफ्नो सुरक्षा आफैं गर्न सक्ने अनौठो साहस पलाएको विद्यार्थीको भनाई छ । म्याग्दीमा आत्मरक्षा तालिमको सहजीकरण गरिरहेको मिलन म्याग्दीकी अध्यक्ष दिलु विटालुले जिल्लाका सबै विद्यालयका छात्रालाई तालिमको आवश्यकता रहेको बताउँदै तालिममा सहभागि भएकाले विद्यालयमा पुगेर सिकाउने गरी अभ्यास समेत गरिने बताउनुभयो ।

Leave a Reply