बेनी नगरपालिकाले आफ्नै कृषि बजार सञ्चालन गर्ने भएको छ । नगरपालिका भित्र उत्पादिन कृषिजन्य बस्तुको बजारीकरणमा सघाउने र उत्पादनमा आधारित अनुदान वितरणलाई प्राथमिकता दिने उद्देश्यले बेनी नगरपालिकाले वडा नं ८ कालीपुलमा कृषि बजारको भवन निर्माण सुरु गरेको हो।

संघीय सरकारको विशेष अनुदानमा तीन करोडको लागतमा १५ कोठाको भवन निर्माण गर्न लागिएको वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले बताउनुभयो ।

संघीय सरकारको कृषि तथा पशुपक्षी बजार प्रवर्द्धन कार्यक्रमअन्तर्गत नगरपालिकामा चालु आर्थिक वर्षमा प्राप्त भएको रु ३० लाख २५ हजार बजेटबाट भवन निर्माण सुरु गरिएको र आगामी आवमा समेत बजेटको प्रतिबद्धताले सहज भएको वडा अध्यक्ष कर्माचार्यको भनाई छ । यता नगरप्रमुख सुरत केसीले नगरभित्र उत्पादनका केन्द्रित कृषकलाई मात्रै अनुदान दिइने बताउनुभयो ।

‘कृषकको उत्पादन अब खेर जादैन, उत्पादन भएका सबै कृषिजन्य बस्तु एकैठाउँबाट बिक्री गछौं’ नगरप्रमुख केसीले भन्नुभयो । नगरपालिका भित्र उत्पादन गरी बिक्री गरिने कृषिजन्य बस्तुको कृषि बजारले खरिद गर्ने र अनुदान समेत थपेर कृषकलाई उपलब्ध गराइने छ । कृषि बजारमा नगरपालिकाको कृषि शाखा समेत राखिने छ ।

नगरभित्र सिजनमा आलु तथा अन्य नगदेबाली बिक्री नहुदाँ कृषक समस्या झेल्दै आएकोमा अब नगरपालिकाको कृषि बजारले बजारीकरणमा सघाउने भएपछि कृषक समेत उत्साहित छन् । कृषि केन्द्रमा कृषकले बजारमा बिक्री गर्ने मुल्यमा खरिद गरी अनुदान थपेर दिने सहितका थप आर्कषक प्रोत्साहन सहितका कार्यक्रमहरु समेत बनाउने नगरपालिकाले जनाएको छ । केन्द्रभित्र तरकारी र मासु पसल हुनेछ ।

Leave a Reply