जन्मदिने आमाबुबाले बिर्सिएकी बेनी नगरपालिका–६,डम्बरा बस्ने १२ बर्षिय सृष्टि विकले शैक्षिक अभिभावक पाएकी छन्। जन्मदिने आमाबुबा दुबैले दोस्रो विवाह गरेपछि सुकुम्बासी जिवन बिताइरहेकी माइतकी हजुरआमा जानकी विकसँग बस्दै आएकी सृष्टिलाई यूकेमा रहेका बेनपा-६,छापका किसान जिसीले कक्षा १२ सम्मको पठन–पाठनका लागि आवश्यक वार्षिक १६ हजार ५०२ नगद आर्थिक सहयोग गरेका छन् ।

म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तराष्ट्रियका उपाध्यक्ष समेत रहेका किसान जिसीले चरम गरिबीसँग जुधेर पनि पढाइमा अब्बल सृष्टिलाई शिक्षादीक्षामा कुनै कमी हुन नदिने प्रतिबद्धता सहित सामाजिक संस्था गंगा जिसी फाउण्डेशनका संस्थापक अध्यक्ष नारायण जिसीमार्फत मंगलबार विद्यालयमा एक कार्यक्रम गरी अभिभावकत्व ग्रहण गरेका हुन् ।

गरिबी र नियतिको भूमरीमा परेकी हजुरआमाले आफ्नो भोक, प्यास, निन्द्रा, सबै बिर्सेर नातिनीको शिक्षादीक्षाका लागि बुढेशकालमा पनि ज्यालामजदुरी गर्ने गरेको समाचार बेनीअनलाइनबाट प्रकाशित भएपछि सहयोगदाता जिसीले आफ्नो जन्मदिनको अवसरमा शैक्षिक अभिावकत्व ग्रहणको प्रतिबद्धता जनाएका थिए ।

‘गरिबीलाई नजिकबाट महसुस गरेको छु, सृष्टिको शैक्षिक यात्रामा कुनै कमि हुन दिन्न,‘गरिबीलाई पार गर्न पनि उनलाई शैक्षिक वातावरण आवश्यक पर्छ’ मोना आइसीका उपाध्यक्ष जिसीलाई उद्धित गदैं दाजु नारायण जिसीले भने ।

यसअगाडी पनि सहयोगदाता जिसीले सरस्वती आधारभुत विद्यालयमै पढ्ने पुष्पा राई, न्यू वेष्ट प्वाइन्ट आवासीय माविमा पढ्ने अभिभावकविहिन करिना कार्की लगायत आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका दर्जनौलाई सहयोग गरेका छन् ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष क्या. मिनबहादुर कार्कीले विपन्न परिवारकी सृष्टिको शैक्षिक भविस्यका लगि यो सहयोगले ठूलो राहत मिलेको बताए। जेहन्दार,अध्ययनशील र अनुशासितका साथै विद्यालयकै मेधावी छात्रा सृष्टिले भविस्यमा गायक र इन्जिनियर बन्ने सपना बोकेकी छन् ।विद्यालयका प्रधानध्यापक छेमप्रसाद गर्बुजा पुनले विपन्न र बेसहारका लागि भइरहेको प्रयासबाट उत्साहित भएको बताए ।

प्रअ गर्बुजाले विहान–बेलुकी हातमुख जोड्न समेत ठुलै यूद्ध जिते जस्तै हुने गरेको परिवारमा सहयोगले पढाईलाई खर्चका लागि सहज भएको बताए । सहयोग हस्तान्तरण कार्यक्रममा सृष्टिकी हजुरआमा जानकीले नातिनीको शिक्षादिक्षामा खर्च गर्ने र आफुँले मजदुरी गरी घरखर्च चलाउने बताईन् ।आँखामा टिलपिल–टिलपिल आँसु बगाउँदै जानकीले नातिनीलाई छोरीज्वाईले कलिलै अवस्थामा छोडेर गएपछि आफुँले हुर्काएको बताइन्।

आमाबुबाको साथ र सहयोग नपाएको भन्दै अर्को जुनीमा आमाको कोखमा छोरा भएर जन्मिने चाहना रहेको सृष्टिको भनाई छ ।‘मलाई छोरी भनेर कहिल्यै फोन आउँदैन्, मेरो आमाबुबाको जिम्मेबारी हजुरआमा लिनुभएको छ,’सृष्टिले भनिन् । एकाबिहानै उठ्ने, नियमित घरायसी काम गर्ने, खाना पकाउने, हजुरआमालाई सघाउने सघाउने र फुर्सदको समयमा पढ्ने गरेकी सृष्टि विद्यालयमा मेहनती, लगनशील र इमानदार विद्यार्थीको रूपमा चिनिन्छन्।

Leave a Reply