म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा जलविद्युत आयोजनाका सवारी साधनलाई अवरोध गरिएको छ । रघुगंगा गाउँपालिकामा निर्माणधिन जलविद्युत आयोजनाका ठूला सवारी साधन आवत जावत गर्दा धुलोले जनजिवन नै अस्तव्यस्त भएपछि स्थानीयबासी र युवाहरुले विहिवार विहानदेखि जलविद्युत आयोजनाका सवारी साधनलाई आवत जावत गर्न रोक लगाएका हुन् ।

रघुगंगा गाउँपालिकामा ४० मेघावाट क्षमताको राहुघाट, २२.५ मेगावाट क्षमताको ठूलोखोला , ४८ मेगावाट क्षमताको अपर राहुघाट, ३७.५ मेगावाट क्षमताको मङ्गले राहु घाट र २१.३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना निर्माणधिन अवस्थामा रहेका छन् । विहानदेखि जलविद्युत आयोजनाका सवारी साधनलाई सञ्चालनमा अवरोध भएपछि निर्माण सामाग्री र उपकरणहरु बोकेका सवारी साधनहरु बिच सडकमै लाम लागेका छन् ।
गाउँपालिकाको केन्द्र समेत रहेको मौवाफाँट हुँदै सवैजसो आयोजनाका ट्रिपर, ट्रक, ट्याक्टर ओहोर दोहोर गर्ने भएपनि सडकको धुलो व्यवस्थापनमा ध्यान नदिएपछि बाध्य भएर सवारी साधन रोक्नुपरेको मौवाफाँटमा रहेको समाजसेवा युवा क्लबका अध्यक्ष बृद्धि केसीले बताउनुभयो ।

निरन्तर ठूला सवारी साधन गुड्दा सडकको धुलो घरभित्रै पसेर मानव स्वास्थ्यमा गम्भिर असर गर्दा समेत सडकलाई स्तरीय बनाउन र धुलो व्यवस्थापनमा जलविद्युत आयोजनाहरुले वेवास्ता गरेपछि स्थानीयबासीले आन्दोलन स्वरुप सवारी रोकेको जनाइएको छ ।

स्थानीयबासीले कच्ची सडकलाई ग्राभेल गर्न र दैनिक रुपमा सडकमा पानि छरेर धुलो व्यवस्थापन गर्न माग गरेका छन् । जलविद्युत आयोजनाका सवारी साधनलाई आवत जावत गर्न रोक लगाइएको भएपनि अन्य सवारी साधनलाई भने आवत जावत गर्न दिइएको छ ।

Leave a Reply