महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी आर्थिक वर्षमा ज्येष्ठ नागरिकका निम्ति विशेष कार्यक्रम ल्याउने बताएकी छिन्। समाज कल्याण परिषद् अन्तर्गत रहेको राष्ट्रिय ज्येष्ठ नागरिक कोषले आज आयोजना गरेको क्यालेन्डर विमोचन तथा ज्येष्ठ नागरिकको क्षेत्रमा समाजसेवा गर्ने समाजसेवी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन्।

कार्यक्रममा बोल्दै उनले भनिन् ‘ज्येष्ठ नागरिक हामी सबैको अग्रज, पूजनीय व्यक्तित्व हुनहुन्छ। उहाँहरूप्रतिको दायित्व सबैले निर्वाह गर्न आवश्यक छ।’ पछिल्लो समय आफ्नै सन्तान, आफन्त, समाज, परिवारले समेत ज्येष्ठ नागरिकलाई बेवास्ता गर्ने प्रवृत्ति बढेको भन्दै मन्त्री चौधरीले त्यो समस्यालाई समाधान गर्नका निम्ति सन्तानको कमाइको १० प्रतिशत आफ्ना आमा बुवाका निम्ति छुट्टाउने व्यवस्था गरिएको बताइन्।

‘आफ्ना सन्तानले जति कमाई गर्छ त्यसको १० प्रतिशत आमा बुवाका निम्ति खर्च गर्नुपर्ने ऐनमा व्यवस्था गरिएको छ। ऐन आएको छ अब त्यसलाई कार्यविधि बनाएर स्थानीय तहसम्म पठाउनुपर्ने छ। त्यसका निम्ति हामीले तयारी गरिरहेका छौँ’, मन्त्री चौधरीले भनिन्, ‘ज्येष्ठ नागरिक हाम्रा पूजनीय, आदरणीय व्यक्तित्व हुनुहुन्छ। हामी कसैले पनि उहाँहरूलाई बिर्सन हुँदैन।’

मन्त्री चौधरीले आफ्ना सन्तान हुर्काउँदै गर्दा आफूलाई जन्मदिने मातापितालाई बिर्सन नहुने जिकिर गरिन्। ‘चाहे कुनैपनि कारण होस् तर हामीले आफ्ना आमा बुवालाई बेवास्ता गर्नु हुँदैन। सन्तान हुर्काउँदै गर्दा आफ्ना बाआमाप्रतिको जिम्मेवारी भुल्नु हुँदैन।’ उनले भनिन्।

Leave a Reply