---Advertisement---

खैरेनी सामुदायिक बनमा आगो लगाउने मिजारलाई बन मुद्धा

On: May 5, 2024 10:00 PM
Follow Us:

बेनी नगरपालिका–६को खैरेनी सामुदायिक बनमा आगो लगाउने स्थानीय यूवालाई डिभिजन बन कार्यालय म्याग्दीले कारवाही थालेको छ । गत वैशाख ९ गते आगो लगाएको विशेष सूचनाका आधारमा १० गते पक्राउ गरिएका स्थानीय यामबहादुर मिजारलाई बन ऐनमा मुद्धा दर्ता गरिएको हो ।

केहीदिन अगाडी मात्रै बैदेशिक रोजगारीको सिलसिलामा खाडीमुलुकबाट फर्किएका मिजारले मदिरा सेवन गरी सामुदायिक बनमा आगजनी गरेको सूचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएर डिभिजन बन कार्यालयलाई बुझाएको थियो ।

डिभिजन बन कार्यालय म्याग्दीका प्रमुख विष्णु अधिकारीले आगलागीमा संलग्नका बारेमा सूचना दिएमा प्रमाण पुगेमा कानुनी कारवाही गरिने बताए । ’बनजंगलमा आगो लगाउनु गम्भीर अपराध हो,‘यसपटक गण्डकी प्रदेशमै बनजंगलमा आगो लगाउनेलाई मुद्धा दर्ता म्याग्दीमा मात्रै भएको छ’ अधिकारीले भने ।

म्याग्दीको बेनी नगरपालिका वडा नं ५ भिरमुनी सामुदायिक बनमा आगो लगाएको आरोपमा स्थानीयले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

म्याग्दीमा म्याग्दीमा ३ सय ११ सामुदायिक वनमध्ये १ सय २५ भन्दा बढी बनको १२ सय हाराहारीको हेक्टरमा डढेलोले जलेर खरानी बनेको छ । बन क्षेत्रमा फैलिएको आगलागीले गर्दा निस्केको धुँवाले जिल्लामा पछिल्लो एक महिना यता वायु प्रदूषण बढेको छ । आइतबार बर्षातले केही राहत भएपनि आगजनीका घटना रोकिएको छैन ।

आगलागीले जिल्लाका अधिकांस सामुदायिक र राष्ट्रिय बनक्षेत्र उजाड र नाङ्गो भएको छ ।वन ऐन २०७६ को दफा ४९ को ‘घ’ मा राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा सजाय हुने व्यवस्था गरिएको छ। ‘यस कसुर गर्नेलाई क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा ६० हजारसम्म जरिवाना वा दुवै सजाय हुनेछ’, ऐनमा उल्लेख छ।