मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनी नजिकै देखिएको हिमचितुवा चारदिनदेखि बस्ती आसपासमै बसेको छ । गएको शुक्रबार कालिगण्डकी नदी पारी बस्ती नजिक देखा परेको दुर्लभ वन्यजन्तु हिँउ चितुवालाई देखेका स्थानीयले सोमबार दिउँसोसम्म सोही आसपासको क्षेत्रमा देखिएका वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४का वडा अध्यक्ष कर्मा ग्याछो गुरुङले बताए । ‘एउटै ठाउँमा देखिएको छ, बिरामी भएर बसेको पनि हुनसक्छ, उद्धारको आवश्यकता छ’ वडा अध्यक्ष गुरुङले भने ।

हिमालकी रानी भनेर समेत चिनिने हिमचितुवा नजिकै कुकुर पुग्दा माथिल्लो क्षेत्रमा गएर बसेपनि चारदिनसम्म एउटै क्षेत्रमा देखिनुलाई बिरामी भएको हुनसक्ने भन्दै स्थानीयले समेत एक्याप सहितको टोलीलाई समेत उद्धारमा सक्रिय हुन अनुरोध गरेका छ ।

हिमचितुवा आसपासमा क्षेत्रमा रहेका पशु चौपायालाई केही क्षति नगरी बसेकाले बिरामी भएर माथिल्लो क्षेत्रमा जान नसकेको हुनसक्ने अनुमान स्थानीयको छ । समुन्द्री सतहको ३ हजारदेखि ५ हजार मिटरको अग्लो उचाइको क्षेत्र हिउँ चितुवाको मुख्य वासस्थान भएपनि बेलाबोलमा बस्ती आसपासमा आउने गरेको छ ।

Leave a Reply