म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडकको बागलुङ खण्ड १० दिन बन्द हुने भएको छ । बैशाख २६ गतेदेखि जेठ ४ गतेसम्म विहान १० बजेदेखि बेलुकी ४ बजेसम्म सडक बन्द गरिने जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।

सहायक प्रजिअ चित्राङ्घत बरालद्धारा जारी सूचनामा डिभिजन सडक कार्यालय बागलुङले बागलुङ खण्डको पाङ्ग्रे खोलामा सडक विस्तार तथा मर्मतको कार्य भइरहेकाले सडक बन्द हुने जनाइएको छ। पाङ्ग्रे खोलाको घुम्ती र सडक मर्मत नहुदाँ दुर्घटना हुने गरेको छ ।

बन्द समयमा बैकल्पिक सडकको प्रयोग गर्न अनुरोध गरिएको छ । १४ किमि बेनी–बागलुङ सडक खण्डमध्ये नौ किलोमिटर सडक म्याग्दी र साढे चार किमि सडक बागलुङ जिल्लाभित्र पर्छ । बेनी–बागलुङ सडकखण्ड बन्द हुदाँ यातायातका साधन बेनी–मालढुंगा खण्डको प्रयोग गर्नुपर्ने छ ।

Leave a Reply