नयाँ खेलाडी उत्पादन र पहिचान गर्न म्याग्दीको सदरमुकाम बेनीमा आज शुक्रवारदेखि १० दिनका लागि भलिबल प्रशिक्षण सुरु भएको छ । ‘नेपालको राष्ट्रिय खेल भलिबल’ भन्ने मूल नारासहित म्याग्दी जिल्ला भलिबल संघको आयोजना र जिल्ला खेलकुद विकास समितिको सहकार्यमा महिला तथा पुरुष भलिबलको प्रशिक्षण सञ्चालन गरिएको हो ।

माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका, कक्षा ११ र १२ अध्ययन गर्दै गरेका तथा १२ कक्षा पास भई बसेका विद्यार्थीहरुलाई लक्षित गरेर भलिबलको प्रशिक्षण आयोजना गरिएको म्याग्दी जिल्ला भलिबल संघले जनाएको छ । नेपालको राष्ट्रिय खेल भलिबलप्रति आकर्षण बढाउन, नयाँ खेलाडीहरुको पहिचान तथा उत्पादन गर्न र खेलाडीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित प्रशिक्षण सुरु गरिएको छ ।

भलिबल प्रशिक्षणको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले प्रशिक्षणमा सहभागी खेलाडीहरुलाई अनुशासनपूर्वक खेल प्रदर्शन गर्न सुझाव दिनुभयो । उहाँले भलिबललगायत खेलकुदजन्य गतिविधिहरुको टे«निङ सेन्टरका लागि बेनी नगरपालिकाले जग्गा व्यवस्थापन गरेको बताउँदै १० दिनको भलिबल खेललाई अवसरको रुपमा लिएर पूर्ण रुपले प्रशिक्षण लिनुपर्ने बताउनुभयो ।

खेलकुद क्षेत्रको विकास गर्नको लागि आवश्यक पहल गर्नुका साथै बजेटको समेत व्यवस्थापन गरिने नगर प्रमुख केसीको भनाइ छ ।सोही कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले खेलकुदमा अनुशासन मुख्य भएकाले प्रशिक्षणमा सहभागी खेलाडीहरुले अनुशासनलाई ध्यानमा राखेर खेल्नुपर्ने बताउनुभयो ।

उहाँले खेलकुद क्षेत्रमा भएको लगानीको प्रतिफल लामो समयपछि देखिने बताउँदै नयाँ खेलाडी उत्पादन तथा खेलाडीहरुलाई थप दक्ष, योग्य र सक्षम बनाउन खेलकुद विकास समिति र म्याग्दी जिल्ला भलिबल संघले खेलकुदका गतिविधिलाई जोड दिएको बताउनुभयो । म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले खेलकुदमा नवआगन्तुक खेलाडीको पहिचानसँगै समग्र खेलकुदको विकास गर्न प्रशिक्षण आयोजना गरिएको बताउनुभयो ।

नेपाल पुलिस क्लबका भलिबल खेलाडी जमानसिङ परियारले अनुभव सुनाउनुभएको भलिबलको प्रशिक्षण कार्यक्रमको उद्घाटनसत्र म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष बानियाँको अध्यक्षता, महासचिव कुमार किसानको सञ्चालन र रघुगंगा गाउँपालिका भलिबल संघका अध्यक्ष अशोक शाहीले स्वागत गर्नुभएको थियो ।

भलिबलको प्रशिक्षण कार्यक्रममा संघका अध्यक्ष एवं प्रशिक्षक तेजेन्द्र बानियाँ, महासचिव कुमार किसान र सदस्य तथा प्रशिक्षक मलिनकुमार रोकाले प्रशिक्षण दिनुहुनेछ । भलिबल प्रशिक्षण कार्यक्रममा २० वर्षमूनिका म्याग्दी जिल्लाबाट पुरुष ४४ र महिला २८ जना प्रशिक्षार्थी खेलाडीहरुले सहभागिता जनाएका छन् ।

Leave a Reply