म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयमा आज शुक्रवार विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । विद्यालयद्वारा आयोजित एक समारोहबीच हालै प्रकाशित स्मारिका ‘प्रभात’को विमोचन, वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कार वितरण र नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको हो ।

कार्यक्रमको उद्घाटन तथा विद्यालयद्वारा प्रकाशित प्रभात अङ्क–७ स्मारिका–२०८१ को विमोचन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले न्यू वेष्ट प्वाइन्टले प्रकाशन गरेको प्रभात म्याग्दीको शैक्षिक पूँजीको रुपमा रहने बताउनुभयो । उहाँले विमोचन भएको प्रभात पुस्तकले अध्ययन तथा अनुसन्धानमा समेत महत्वपूर्ण सहयोग पु¥याउने बताउँदै वेष्ट प्वाइन्टले शैक्षिक गतिविधि सँगसँगै अतिरिक्त क्रियाकलापहरुमा जोड दिएको बताउनुभयो ।

जिल्ला समन्वय समिति प्रमुख थापाले विद्यालयका संस्थापकहरुको दुरदृष्टि र नवीनतम् सोच तथा कर्तव्यनिष्ठ शिक्षक, कर्मचारीहरुको कारणले विद्यालय अहिलेको अवस्थासम्म आइपुगेको बताउँदै विद्यालयले शैक्षिक क्षेत्रमा हासिल गरेको उपलब्धिलाई बचाएर आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

सोही कार्यक्रममा बोल्दै बेनी नगरपालिकाको शिक्षा शाखा प्रमुख हेमचन्द्र पौडेलले विद्यालयले शैक्षिक क्षेत्रमा हासिल गरेको प्रगतिलाई आगामी दिनमा पनि टिकाइराख्न सुझाव दिनुभयो । उहाँले बेनी नगरपालिकाले संस्थागत विद्यालयहरुका लागि गरेको निर्णयको कार्यान्वयन गरेर सघाउन आग्रह गर्दै विद्यालयहरुको कार्यसम्पादनलाई सहजीकरण गर्न स्थानीय तहलगायत तालुकदार निकायबाट आवश्यक सहयोग हुने बताउनुभयो ।

कार्यक्रममा गएको शैक्षिक सत्र–२०८० सालको वार्षिक परीक्षामा उत्कृष्ट अङ्कसहित नर्सरीदेखि कक्षा ९ सम्म प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई उनीहरुका अभिभावकसहित पुरस्कार वितरण तथा सम्मान गरिएको थियो । कार्यक्रममा म्याग्दी साहित्यिक समाजका अध्यक्ष ध्रुवलाल शर्माले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

विमोचित भएको स्मारिका प्रभातभित्र विद्यालयको समग्र गतिविधिसहित प्राध्यापक, साहित्यकार तथा विभिन्न लेखक र विद्यार्थीहरुको सिर्जना, लेखरचना र साहित्यलाई समावेश गरिएको छ ।

वेष्ट प्वाइन्ट एजुकेशन फाउण्डेशन म्याग्दी प्रािलका अध्यक्ष यजनलाल शाक्यको अध्यक्षता, प्रिन्सिपल डिबी दाहालको स्वागत र भाइस प्रिन्सिपल तथा वेष्ट प्वाइन्ट मिडिया हवका संयोजक कृष्णबहादुर जिसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा विद्यालयका संस्थापक निर्देशकहरु, अभिभावक एवं सल्लाहकारहरु, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो भने कलाकार विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

Leave a Reply