खुम्लियाका युवाहरुले बनाए गाउँमै खेलमैदान,खेल्न अर्को गाउँ जानुपर्ने बाध्यताको अन्त्य

0

म्याग्दीको मंगला गाउँपालिका-२,खुम्लियामा युवाहरुको अगुवाईमा गाउँमा खेलमैदान निर्माण भएको छ । गाउँमा खेलमैदान नहुदाँ छिमेकी गाउँमा पुगेर खेल्नुपर्ने बाध्यतालाई अन्त्य गदैं गाउँपालिका, चन्दा र सहयोगबाट रकम जुटाएर गाउँमा खेलमैदान निर्माण गरेका हुन ।

खेलमैदान नहुदाँ छिमेकी गाउँमा पुगेर खेल्नुपर्ने बाध्यताको अन्त्य गदैं स्थानीय खुम्लिया यूवा क्लवको अगुवाइमा गाउँपालिकाबाट ३ लाख २० हजार, स्वदेश तथा विदेशबाट साढे २ लाख चन्दा संकलन गरी गाउँमा रहेको देवी मन्दिर नजिकै खेलमैदान निर्माण गरिएको हो ।

खेलमैदान निर्माणसँगै यूवा क्लवले खेलकुद प्रतियोगिता तथा नियमित विहान, बेलुकी भलिबल खेल्न सहज भएको स्थानीय रितु घर्तीले बताइन् । ‘हामी खेल्नका लागि छिमेकी गाउँमा जानुपर्ने बाध्यता थियो, अहिले खेलमैदान बनेपछि खुसी छौ’ उनले भनिन् ५० मिटर लम्बाई र १७ मिटर चौडाईको खेलमैदानसँगै स्टेडिएम गरिएको छ ।

क्लवका उपाध्यक्ष तेजिन्द्र आचार्यले खेलमैदानका लागि गाउँपालिका बाहेक संकलन गरिएको आर्थिकले पहिलो चरणको काम सकिएको र थप खेलमैदानलाई ब्यवस्थित बनाउने र स्टेडियमलाई समेत आधुनिक बनाउने योजना रहेको बताए । ‘खुम्लियाका खेलप्रेमीको एउटा चाहना पूरा भएको छ, स्थानीयबासीको प्रयासमा खेलमैदान बनेको छ’ उपाध्यक्ष आचार्यले भने ।

खेलमैदान निर्माण भएपछि गाउँमा खेलकुद गतिविधिहरु सञ्चालन गर्न सहज भएको छ । व्यवस्थित खेलमैदानको अभावमा खेलकुद गतिविधिहरु प्रभावित भएपछि बुढापाकाले समेत खेलमैदान बनाउने अभियानमा साथ दिएका थिए ।

‘हाम्रो खेल्ने उमेर त सकियो, अहिले गाउँका यूवाहरु खेलेको देख्दा आनन्द आउँछ’ स्थानीय भिमबहादुर किसानले भने । खेलमैदान निर्माणले स्थानीयबासीमा उत्साह थपिएको बताए। खेलमैदान वरीपरी अस्थायी घेराबार लगाइएको छ ।

सरकारी निकाय, स्वदेश तथा विदेशमा रहेका खुम्यिाबासीबाट थप सहयोग जुटाएर दर्शकहरु वस्नका लागि प्याराफिट, मैदानमा राती समयमा पनि प्रतियोगिता सञ्चालन गर्न मिल्ने गरी बत्तिहरु जडान लगायतका योजनाहरू समेत बनाइएको क्लव अध्यक्ष मिलन गुरूङले बताए । खेलमैदान बनेसँगै गाउँमा रहेका खेल प्रतीभाको पहिचानमा समेत सहज हुने स्थानीयबासीको भनाई छ।

Leave a Reply