सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि म्याग्दीमा सञ्चालित ट्राफिक सप्ताह अन्तरगत चालक, सहचालक तथा यात्रुकोे स्वास्थ्य परीक्षण गरिएको छ ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा इलाका प्रहरी कार्यालय अन्तर्गत अस्थाई ट्राफिक कार्यालयको आयोजना र दरबाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रको प्राविधिक सहयोगमा मालिका-६ भूमेथानमा सवारी चालक र यात्रु गरी ५० जनालाई स्वास्थ्य परीक्षण गरिएको थियो।

गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले अधिकांश दुर्घटना चालककै कमजोरीका कारण भएकाले सवारी चलाइरहेका चालकको स्वास्थ्य अवस्थालाई अन्य समयमा समेत सडकमै रोकेर स्वास्थ्य परीक्षण गर्नुपर्ने बताए ।

‘चालकको सामान्य त्रुटिबाट पनि ठूलो जनधनको क्षति हुनसक्छ, यो अभियान सप्ताहमा मात्रै सिमित गर्नुहुदैन’ अध्यक्ष गर्बुजाले भने । सडकमै स्वास्थ्य परीक्षणको क्रममा मास्क बितरण, लागूऔषध सम्बन्धि परामर्श, स्वाथ्य परामर्श, दुर्घटना न्यूनीकरण सम्बन्धि परामर्श, सवारी साधनको परिक्षण साथै सचेतनामुलक पम्प्लेट र स्टिकर बितरण गरिएको थियो ।

प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत हेअ एवम् सूचना अधिकारी यमन नेपालीले स्वास्थ्य परिक्षण गरेका थिए । उनका अनुसार परीक्षणको क्रममा एक चालकलाई धुलोको एलर्जी,८ जनामा उच्च रक्तचाप र मधुमेहको समस्या देखिएको थियो ।
लाइसेन्स लगायतका कागजपत्र मात्र जाँच गर्ने ट्राफिक प्रहरीले आफूहरूको स्वास्थ्य परीक्षण गर्ने अभियान राम्रो भएको बेनी नगरपालिका–६का चालक श्याम किसानले बताए ।

चालकको स्वास्थ्य गडबडी भएमा दुर्घटना हुनसक्ने भएकाले स्वास्थ्य परीक्षण अभियान महत्वपूर्ण भएको उनले बताए। अभियानमा मालिका गाउँपालिका वडा नं.२ को वडा सदस्य प्रतीक्षा रसाइली, दरबाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रको प्रमुख डा.गायत्री पौडेल लगायतको उपस्थिती रहेको थियो ।

सोही अवसरमा सवारीसाधनको अवस्थाका बारेमा समेत प्राविधिक सहित चेकजाँच गर्ने क्रममा तीनवटा सवारी साधनमा सामान्य समस्या देखिएकोमा तत्काल मर्मतका लागि पठाइएको र सवारीधनीलाई फोन गरेर जानकारी समेत दिइएको ट्राफिक प्रहरी दलबहादुर अखेलीले बताए ।

Leave a Reply