म्याग्दीको धवलागिरी गाउँपालिका-२,लुलाङ खोरिया मतलाभीरमा भीरमौरीको घार देख्न सकिन्छ। आङ सिरिङ्ग हुने हिमाल जस्तै अग्लो कहालीलाग्दो पहरामा ६० बर्षिय मोतिप्रसाद पाइजाको टोली ज्यानको बाजी राखेर भीरमौरीको महको सिकार गर्दै आएका छन्। तुर्लुंङ डोरी झुन्डिएर वर्षैपिच्छे मह सिकार गर्दै आएका युवाले पुख्र्यौली पेसा र परम्परा ठान्छन्। अक्करे भीरमा जोखिम मोलेर गरिने साहसिक मह शिकारमा निस्किएको टोलीले दिनभरी भीरमै मह काट्दै विताउँछन् ।

सिजनमा हत्केलामा राखेर डोरी (परङ) मा झुन्डिएर मौरीको चाका नजीक पुगेर मह निकाल्ने मह शिकारीको दैनिकी जस्तै बनेको छ । भीर मह काढ्दा परङमार्फत गएका शिकारीले गोलामा धुवाँ झोस्ने भएकाले थोरै गल्ती भएमा ज्यान पनि जान सक्ने भएकाले पूर्वतयारीमा समेत समय खर्चनुपर्छ। लुलाङका भीर पहरामा भीर माहुरी पाइन्छ। ठूलो भीरमा १ सयसम्म घार र सानोमा ४० घारसम्म निकाल्ने गरिएको छ ।

करिब ३५ बर्षदेखि भिरमहको शिकारमा ब्यस्त मोतिप्रसादले टोलीलाई म्याग्दीका विभिन्न ठाउँ र कास्कीमा समेत लगेर समेत मह काढ्ने गरेका छन् । मोतिप्रसादले लुलाङ बाहेक यसपटक मंगला गाउँपालिका–१ थाईवाङमा समेत पुगेर मह काढेका छन् ।

मह निकाल्नका लागि भिरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा शिकारी बाँडिएका हुन्छन्। एक समूहले भिरको माथिबाट तल भुईंसम्म डोरी झुन्डाउँछन् भने भिरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्छन्। ठूलो भिरमा मेहनत धेरै लाग्ने भएकाले एउटा भिरमा दिनभरी खर्चिनुपर्ने मोतिप्रसादको भनाई छ ।

झण्डै ५ सयदेखि १५ सय मिटरको उचाईका पहरामा पुगेर मह निकाल्ने गरेको टोलीका सदस्य सकप्रसाद पुनले बताए । बजारमा महको प्रतिलिटर २५ सय रुपैयाँमा बिक्री हुुन्छ। गाउँमै आएर मह लैजाने गरेका छन् । मोतिप्रसादको टोलीले ठूलो भीरमा १५ र सानोमा ९ जनाको जनशक्ति ब्यवस्थापन गर्ने गरिएको छ ।

‘भिरमौरीसँगै धेरै वर्ष खेलियो,‘यूवापुस्ताले सघाइरहेका छन् मैले अझै पेशालाई निरन्तरता दिएको छु’ मोतिप्रसादले भने । आकाशमा उड्ने चरो समेत बस्न नसक्ने ठाउँमा बृद्ध अवस्थामा पनि मोतिप्रसादले डोरीको सहायताले पुग्ने गरेको दृष्य हेर्न लायकको हुन्छ । मोतिप्रसादको टोलीे सिजनमा भीरमह खोज्दै धेरै ठाउँमा पुग्ने गरेको छ ।

ठूलाठूला पहरा साथै खोलानालाको वरिपरि रहने भीर महबाट हुने आम्दानीले घरखर्च चलाउन सहज हुने टोलीका सदस्य सकबहादुर पुनको भनाई छ । भीरमौरीको महत्वबारे जानकार रहेकाले संरक्षणका लागि पुराना र अनुभवीहरुबाट जानकारी तथा संरक्षणका थप योजना बनाउने धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।

उनले धवलागिरीलाई ‘हनी हन्टिङ’ का लागि प्रख्यात ठाउँको रुपमा चिनाउन आवश्यक तयारी गरिने बताए । म्याग्दीमा लुलाङ बाहेक गूर्जा, कुइनेमंगले,चिमखोला, दग्नाम, उत्तरी क्षेत्रमा दाना, शिख, हिस्तानको दोसल्ले लगायतका स्थानमा भीर मह पाइन्छ। गुलियो र स्वादिलो हुने भीर मह विशेषगरी यौनबद्र्धक, शक्ति र हाडजोर्नीका रोगीका लागि अचुक औषधि मानिन्छ। वसन्त र शरद ऋतु मह शिकारका लागि उपयुक्त समय मानिन्छ।

Leave a Reply