पश्चिम म्याग्दीको लाइफलाइन मानिने बेनी-दरबाङ सडक आयोजनाको दोस्रो सिम-लाम्पाटा खण्ड कालोपत्रेका लागि आवश्यक पूर्वाधार तयार भएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय म्याग्दीले मङ्गला गाउँपालिका–२ सिमदेखि तोराखेत, बाबियाचौर, लाम्पाटासम्मको सडक कालोपत्रेका लागि बेस विच्छाइएको छ । सडकखण्डको लाम्पाटादेखि पानाबगरसम्मको सडकखण्डमा समेत संरचनाको काम भइरहेको ओमबृद्धका प्रतिनिधि डम्बर सापकोटाले बताए । उनका अनुसार सिमदेखि लाम्पाटासम्म कालोपत्रेका लागि आवश्यक उपकरणहरु तयारी अवस्थामा रहेको र लाम्पाटादेखि पानाबगरसम्मको संरचनाहरु बनाउने काम धमाधम भइरहेको बताए ।

सडक कालोपत्र गर्न २०७८ पुस १८ गते ओमबुद्ध निर्माण सेवा बसुन्धरासँग रु १० करोड ७० लाख २१ हजारमा ठेक्का सम्झौता भएको थियो । सडकलाई आठ मिटर फराकिलो बनाएर, सात मिटर चौडाइमा डिबिएसडी कालोपत्र, नाली र पर्खाल निर्माण गरिएको प्रतिनिधि सापकोटाको भनाई छ। अहिले मजदुर र हेभी इक्युमेन्टबाट धमाधम काम भइरहेको छ ।

पश्चिम म्याग्दीको मंगला, मालिका, धवलागिरी गाउँपालिकाका साथै छिमेकी बाग्लुङको तमानखोला गाउँपालिका र रकुम जिल्लाका बासिन्दाले समेत प्रयोग गर्ने सडकखण्डलाई मध्यपहाडी लोकमार्गको बैकल्पिक सडकको रुपमा समेत अगाडी बढाइएकोछ । २०६३ मार्ग खुलेको २४ किलोमिटर दूरीको बेनी–दरवाङको यात्रा सिम लाम्पाटा क्षेत्रमा कालोपत्रे भएपछि छोटिने छ ।

बेनी–दरवाङखण्डको लामा–समानान्तर जेभीले रु ४५ करोडमा ठेक्का लिएको बेनी–सिम खण्डको १२ किलोमिटर ५०० मिटर सडक कालोपत्र गरी हस्तान्तरण गरिसकेको छ भने दोस्रो खण्ड पनि आगामी आवभित्र नै सकिने अवस्था छ तर तेस्रो खण्ड बिरुवा–क्याराभान जेभीले २०७६ असार ३१ गते रु २२ करोड ५७ लाख ९३२ मा ठेक्का लिएको मंगला गाउँपालिका–२,रनबाङ नजिकदेखि दरबाङसम्मको आठ किलोमिटर सडक निर्माणको काम भने सुस्त गतिमा छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख इञ्जिनियर विष्णु पौडेलले निर्माण कम्पनीलाई ताकेता गरिएको बताए । उनका अनुसार सुस्त गतिका योजनाहरुलाई पूर्णता दिन निरन्तर दवावले समेत काम गरिरहेको बताए ।

 

Leave a Reply