बेनी नगरपालिकाले आफ्नो क्षेत्रका विद्यालयका विद्यार्थीलाई दैनिक वितरण गरिने दिवा खाजामा थरीथरीका अर्गानिक स्वाद खुवाउने भएको छ । नगरभित्रका विद्यालयमा दिवा खाजामा जंकफुडलाई रोक्न अर्गानिक र स्थानीय स्तरमा उत्पादन हुने पोषणयुक्त खाजा अनिवार्य गर्ने उद्देश्यले अभिभावक, विद्यालयका चमेनागृह सञ्चालक र विद्यालयका प्रतिनिधिहरूलाई दुई दिने तालिम समेत दिइएको छ ।

रैथाने बाली प्रवर्द्धनका कार्यक्रम अन्तरगत रैथाने बालीको परिकार विविधिकरण तालिममार्फत स्थानीय रूपमै उत्पादित अर्गानिक बस्तुबाट बनाउन सकिने १५–२० थरीका परिकारहरू बनाउन सिकाइएको थियो ।

दिवा खाजामा प्रयोग हुने खाद्य बस्तुमा अर्गानिकसँगै बालबालिकाको समेत रोजाईमा पर्ने गरी परिकार बनाउन तालिम दिइएको बेनी नगरकी उपप्रमुख ज्योति लामिछानेले बताउनुभयो । ‘दिवा खाजाको गुणस्तरका बारेमा अनुगमन समेत भइहरेको छ, बालबालिकालाई अर्गानिक खाजा खुवाउने विद्यालयलाई प्रोत्साहन पनि गछौं’ उपमेयर लामिछानेले भन्नुभयो ।

आयात गरिएको खाजा (जङ्क फुड)लाई विद्यालयमा प्रतिबन्ध लगाउन विद्यार्थीलाई अर्गानिक स्वादले आर्कषित गर्ने लक्ष्य रहेको उपमेयर लामिछानेको भनाई छ ।तालिममा कोदो, गहुँ भटमास, रोटी, सिस्नोको आइसक्रिम लगायत समुदायस्तरमै पाइने थरीथरीका अर्गानिक परिकार बनाउन सिकाइएको कृषि शाखाकी प्रमुख आकृति ढुंगानाले बताउनुभयो ।

तालिममा विद्यालयको चमेनागृह र अभिभावकलाई समेत भविस्यमा तालिकाअनुसार खाजा बनाएर वितरण गर्ने गरी फरक–फरक दिन फरक परिकार बनाउन सिकाइएको छ । तालिममा सहभागि बन्दना क्षत्रीले बालबालिकालाई अर्गानिक स्वाद दिन सकेमा जङ्क फुडको प्रयोग घट्ने भएकाले तालिमको सिपलाई प्रयोग गर्ने बताउनुभयो ।

नेपाल सरकारले प्रतिविद्यार्थी १५ का दरले उपलब्ध गराउने अनुदान रकमभित्रै खाजा उपलब्ध गराउन नसकिने अवस्थामा अभिाभवकसँग समेत सहकार्य गरी अर्गानिक उत्पादन नै खुवाउने सहभागीले प्रतिबद्धता जनाएका छन् । बेनी नगरपालिकाका १० वडामा ५६ सामुदायिक विद्यालयमा ३ हजारको हाराहारीमा कक्षा १–५ मा विद्यार्थी छन् ।

Leave a Reply