नयाँ खेलाडी उत्पादन र पहिचान गर्न म्याग्दीको सदरमुकाम बेनीमा आयोजित १० दिने प्रशिक्षण् ाशनिबार समापन गरिएको छ । ‘नेपालको राष्ट्रिय खेल भलिबल’ भन्ने मूल नारासहित म्याग्दी जिल्ला भलिबल संघको आयोजना र जिल्ला खेलकुद विकास समितिको सहकार्यमा महिला तथा पुरुष भलिबलको प्रशिक्षणको समापन गदैं गण्डकी खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले खेलाडीको प्रतिभा पहिचान र अवसरका लागि प्रशिक्षण आवश्यक रहेको बताउनुभयो ।

‘भलिबल क्षेत्रमा म्याग्दीले फड्को मारेको छ, विद्यालयस्तरबाटै हुने प्रशिक्षणले प्रतिभाको पहिचान र अवसरका लागि सहज भएको छ’ सदस्य सचिव शर्माले भन्नुभयो । खेलकुद क्षेत्र लैङ्गिक समानताको क्षेत्र रहेको बताउँदै खेलकुद क्षेत्र पारदर्शिता र सुशासनतर्फ अघि बढाउन परिषद्ले ‘खेल्छ गण्डकी’ मार्फत विपन्न परिवारभित्र रहेका खेल प्रतिभाको समेत खोजी भइरहेको बताउनुभयो ।

‘खेलकुद अविरल बगिरहने नदी जस्तै हो, यो पवित्र अभियानमा अब सबैको साथ र सहयोग आवश्यक छ’ सदस्य सचिव शर्माले भन्नु्भयो । खेलकुद क्षेत्र लैङ्गिक समानताको क्षेत्र रहेको बताउँदै खेलकुद क्षेत्र पारदर्शिता र सुशासनतर्फ अघि बढाउन परिषद्ले प्रशिक्षणलाई अभियानको रुपमा अघि सारेको सदस्य सचिव शर्माको भनाई छ ।

प्रशिक्षणमा कक्षा १०, एसइई दिएर बसेका, कक्षा ११ र १२ अध्ययन गर्दै गरेका तथा १२ कक्षा पास भई बसेका वर्षमूनिका पुरुष ४४ र महिला २८ जना प्रशिक्षार्थी खेलाडीहरुले सहभागिता जनाएका थिए ।

प्रशिक्षणको समापन कार्यक्रममा जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले प्रशिक्षणमा सिकेको सीपलाई नियमित खेल अभ्यासमा प्रयोग गर्न सुझाव दिनुभयो । म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले संघको नियमित तालिका अनुसार नै प्रशिक्षण गरिएको बताउनुभयो । म्याग्दीमा मावि तहबाटै खेलाडीको पहिचान, प्रतियोगिता सहितका गतिविधिमा संघले प्राथमिकता दिएको अध्यक्ष बानियाँको भनाई छ ।

प्रशिक्षणमा नेपाल पुलिस क्लबका भलिबल खेलाडी जमानसिङ परियार, तेजेन्द्र बानियाँ, मलिन रोका, कुमार किसान, राजिन पुरीले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष बानियाँको अध्यक्षता, महासचिव कुमार किसानको सञ्चालनमा सम्पन्न भएको प्रशिक्षणमा सहभागी खेलाडीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

Leave a Reply