म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटमा शनिवार (आज) सम्पन्न निःशुल्क आँखा शिविरमा २ सय १५ जना लाभान्वित भएका छन् ।

ज्यामरुककोटको सानालेख स्थित लेखसाइड युवा क्लवले भकुण्डेमा आयोजना गरेको शिविरको स्थानीय ९९ वर्षिय जमानसिंह घिमिरेको आँखा जाँच गर्दै बागलुङका नेत्र रोग चिकित्सक सुजनराज पाण्डेले शिविरको उद्घाटन गर्नुभएको थियो ।

शिद्धार्थ आँखा उपचार तथा चश्मा घर बागलुङले प्राविधिक सहयोग गरेको उक्त शिविरमा ९० जना विरामीहरुलाई निःशुल्क चश्मा वितरण गरिएको क्लवका अध्यक्ष धु्रव थापाले जानकारी दिनुभयो । शिविरले स्थानीय वृद्ध वृद्धादेखि अशक्त, अपाङ्गता र बालबालिका तथा वयस्क सबै उमेर समूहले आँखा उपचारको अवसर पाएको उहाँको भनाइरहेको छ।

शिविरले आँखाको समस्या भएका बालबालिकादेखि वृद्ध वृद्धासम्म लाभान्वित भएको स्थानीय युवा दानेन्द्र थापा क्षेत्रीले बताउनुभयो । लेखसाइड युवा क्लवले केवल मनोरञ्जनात्मक कार्यक्रमहरु मात्र नभइ रचनात्मक र सेवामूलक कार्यक्रमहरु पनि गर्दै आएको र रक्तदान कार्यक्रम पनि आयोजना गर्न लागिएको थापाको भनाइरहेको छ ।

क्लवका उपाध्यक्ष नारायण शर्माका अनुसार आँखा शिविरमा ज्यामरुककोटको गौश्वारा,सानालेख,तमाने,भकुण्डे,फापरखेत र खवरा क्षेत्रबाट समेत विरामीहरु आएका थिए । लेखसाइड युवा क्लवले हरेक वर्ष महाशिवरात्री पर्वको अवसरमा विविध कार्यक्रम सहित मेला पनि आयोजना गर्दै आएको छ । स्थानीय युवाहरुले देश विदेशमा रहेका सानालेखवासीहरुबाट सहयोग जुटाएर संचालन गर्ने गरिएको सो मेला खेल र मनोरञ्जनको संगम बन्ने गरेको छ ।

लोपोन्मुख संस्कृतिको संरक्षण,खेलप्रतिभाहरुको पहिचान,सामाजिक योगदानको मूल्याङ्कन गर्ने उद्धेश्यले हरेक वर्ष महाशिवरात्री पर्वको अवसर पारेर मेला आयोजना गर्ने गरिएको लेखसाइड युथ क्लवका उपाध्यक्ष नारायण शर्माले बताउनुभयो ।

२०७५ सालमा बेनी नगरपालिकाको रु ४ लाख ८२ हजार ५ सय अनुदान र बाँकी रकम देश विदेशमा रहेका ज्यामरुककोटवासीहरुबाट सहयोग जुटाएर क्लवमा आबद्ध युवाहरुले साढे ६ लाख रुपैयाँ खर्चगरी सामुदायिक भवन निर्माण र २ लाख भन्दा बढीको लागतमा खेलमैदान निर्माण गरेका थिए ।

गाउँको विकास र युवाहरुको अभियानलाई देश विदेशमा रहेका सानालेखबासीहरुले पनि मन खोलेर सहयोग गर्ने गरेका दानेन्द्र थापाले बताउनुभयो । शनिवार सम्पन्न आँखा शिविरका लागि बागलुङ जीपपार्क स्थित नवदुर्गा हार्डवेयरका संचालक विमल सुवेदी र गणेश भण्डारीको विशेष सहयोग रहेको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply