अहिले काफलको सिजन हो। चैतको अन्तिम सातादेखि जेठको अन्तिम सातासम्म काफल पाइन्छ। गाउँघरका जंगल यतिबेला काफल पाकेर राताम्मे छन्। यहाँका काफल अहिले सुपादेउराली आउने भारतीय पर्यटकले समेत झोलाभरि राखेर भारत पुर्‍याउँछन्। पहाडबाट तराई झर्नेका लागि अहिले काफल अनिवार्य कोसेलीजस्तै भएको छ।

सन्धिखर्कदेखि बुटवल, काठमाडौं, दाङलगायत क्षेत्रतर्फ लागेका यात्रुका लागि घुम्ती, नरपानी, सुपादेउरालीलगायत क्षेत्र काफल पाइने ठाउँका रूपमा परिचित छन्। सवारी रोकेरै थैलाका थैला काफल कोसेलीका रूपमा तराईमा रहेका आफन्त, छरछिमेकीलाई लगिदिने प्रचलन नै बनेको छ। भूमिकास्थान– ९ का सुशील घिमिरे प्रत्येक साताको शुक्रबार तराई बस्ने आमाबुवा तथा पत्नीलाई भेट्न जान्छन्।

केही न केही कोसेली बोकेर जाने उनी आजकल काफल नै बोकेर जाने गरेका छन्। भूमिकास्थान नगरपालिकाको भेटेरिनरी शाखामा कार्यरत उनी काफल उत्तम कोसेली रहेको बताउँछन्। ‘फलफूल र अन्य कुरा लिएर जान्थें,’ उनले भने, ‘काफल सबैले रुचाउँछन्, अहिले यही लिएर जाने गरेको छु।’

गाउँघरमा अर्गानिक रूपमै फल्ने काफल नुनखुर्सानीसँग साँधेर सुकाएपछि मोलेर वा यसै पनि खाने गरिन्छ। पहाडको ताजा काफल खान पाउँदा तराई बस्नेहरू खुसी हुन्छन्। यो दुई महिना काफल बेच्ने, काफल किन्ने र काफल खानेलगायत खुसी हुने समय हो।

यो सिजनमा किसानले दुई लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताउँछन्। अरू समयमा खेती-किसानी गर्ने कृषक यतिबेला अन्य काम छाडेर काफल बेच्नमै व्यस्त छन्। सन्धिखर्क–६ जगतका धनबहादुर नेपाली बिहानभर रुखमा चढेर काफल टिप्छन् र दिनभर ओहोरदोहोर गर्ने सवारीसाधनका यात्रुलाई बेच्छन्।

‘बिहान घरको कामधन्दा सकेर काफल टिप्छु। दिनभर घुम्ती र नरपानीमा काफल बेच्छु। राम्रै आम्दानी भएको छ, यो सिजनमा दुई लाख रुपैयाँ जति कमाउँछु,’ धनबहादुरले भने। आफ्नो निजी जंगलमा भएको काफल टिपेर बेच्दा राम्रै आम्दानी हुने भएपछि सन्धिखर्क ६ र ७ का किसानको दैनिकी काफल टिप्न, छाँट्न र बेच्नमै बितेको छ।

स्थानीय गोपाल नेपाली काफल बेच्न सुपादेउराली मन्दिरसम्म पुग्छन्। एकै दिन ६ हजारको काफल बेचेको स्मरण गर्दै उनले भने, ‘सुपादेउरालीमा निकै भिड थियो। भारतबाट पर्यटकको घुँइचो नै थियो। त्यस दिन मैले ६ हजारको काफल बेचेको थिएँ। सधैं त्यस्तो त हुँदैन। कहिलेकाँही एक हजार रूपैयाँको पनि बिक्न मुस्किल पर्छ।’

यहाँका पुरुष मात्र होइन महिला दिदीबहिनी, बालबालिका सबैले काफल बेचिरहेका हुन्छन्। जंगलमा फल्ने भएकाले स्याहारसुसार गर्नु नपर्ने, धेरै मेहनत गर्नु नपर्ने र लागत पनि शून्य जस्तै पर्ने भएकाले काफल बेचेको पैसा सबै मुनाफा जस्तै हो। खर्च कटाउनु नपर्ने, ज्याला दिनु नपर्ने भएपछि किसानले काफल बेचेको सबै पैसा पूर्ण आम्दानीमा जोड्छन्।

सिजनमा नजिकको बजार सडकछेउमा बसेर बिक्री गरेको काफलको पैसाले किसानले दैनिक उपभोग्य सामग्री खरिद गर्ने, बालबच्चाको पढाइमा खर्च गर्ने, केही रकम बचत गरेर पछिका लागि राख्ने गर्दछन्।

सन्धिखर्क–गोरुसिंगे सडकमा ओहोरदोहोर गर्ने बस, जिप, मोटसाइकलका यात्रुलाई उनीहरूले काफल बिक्री गर्ने गरेका छन्। यस्तै सुपादेउराली मन्दिर र नरपानी आएका पर्यटकलाई उनीहरूले सानो गिलासको पचास रूपैयाँमा काफल बेच्ने गरेका छन्। nagariknews.com

Leave a Reply