कला र संस्कृतिको संरक्षणसँगै गाउँघरमा आइपर्ने सामाजिक कार्यमा मादल बजाउनेको अभाव भएपछि महिलाहरुलाई तालिम दिइएको छ । मेला पर्वको साथमा भजनकिर्तन, देउसीभैलो, रत्यौलीलगायत विविध सांस्कृतिक कार्यक्रमहरुमा मादले खोज्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि तालिम सञ्चालन गरिएको हो ।

यसैक्रममा म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गाले महिलाहरुलाई मादल सिप सिकाइ सम्बन्धी तालिम प्रदान गरेको छ । गाउँघरमा आवश्यक पर्दा उनीहरुलाई मादल बजाउन सिकाएर दक्ष बनाउन वडाले एक हप्ताको तालिम दिएको जनाएको छ । वडाको महिलालक्षित कार्यक्रमअन्तर्गत गएको वैशाख ३० गतेदेखि यही जेठको पहिलो सातासम्म मादल बजाउने तालिम सञ्चालन गरिएको थियो ।

प्रशिक्षक, कलाकार एवं पत्रकार कृष्णबहादुर जिसीले समुदायमा प्रचलित अति आवश्यक झ्याउरे ताल र समला तालको विषयमा मादल बजाउने तालिमको सहजीकरण गर्नुभएको थियो । झ्याउरे र समता तालअन्तर्गत भजनकिर्तन, देउसीभैलो, तीजगीत, लोकगीत, झाम्रे, सालैजो, रत्यौलीलगायत गीतसङ्गीतको मादल बजाउन सिकाइएको प्रशिक्षक जिसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार तालिममा सहभागी महिलाहरुले भजनकिर्तनसँगै गीतहरु गाएर मादलको विभिन्न तालहरु बजाउँदै सिकेका थिए । तालिमको समापनसत्रलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले मादल बजाउने तालिम नेपाली समाजको कला, संस्कृतिसँग जोडिएको हुँदा कला, संस्कृति र परम्परालाई जोगाउन तालिम आयोजना गरिएको बताउनुभयो ।

उहाँले वडा र नगरपालिकाले महिलाहरुको क्षमता अभिवृद्धि गरी दक्ष र सक्षम बनाउन सिपमूलक विभिन्न तालिमहरु सञ्चालनमा जोड दिइएको बताउँदै पछिल्लो समय नेपाली कला र संस्कृति लोप हुने अवस्थामा पुगेकाले संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । विभिन्न तालिममार्फत महिलाहरुको क्षमता वृद्धिमा जोड दिइएको हुँदा सबै महिला दिदीबहिनीहरुले समान रुपमा तालिम लिनुपर्ने उहाँको भनाइ छ ।

तालिमको समापन गर्दै सिङ्गाका वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले महिलाहरुको क्षमता अभिवृद्धि गर्नको लागि वडामार्फत विभिन्न सचेतनामूलक तालिमका कार्यक्रमहरु सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले महिलाहरुलाई तालिमको साथमा टोल विकास संस्थालाई एकएक वटा मादल हस्तान्तरण गरिएको बताउँदै वडामार्फत आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । वडा सदस्यद्वय पवित्रा किसान र सन्दीप खत्रीले मादल बजाउने तालिमको सिप र ज्ञानलाई व्यवहारमा पूर्ण रुपले उतार्न सहभागीहरुलाई सुझाव दिनुभयो ।

तालिमका प्रशिक्षक जिसीले सहभागी महिला दिदीबहिनीहरुले अत्यन्त जाँगर तथा उत्साहसहित सक्रिय सहभागी भई छोटो समयमै मादल बजाउन सक्षम भएकाले यसलाई निरन्तरता दिन आग्रह गर्नभयो । तालिम समापनसत्रको अवसरमा सिङ्गाको विभिन्न टोल विकास संस्थाहरुलाई वडा कार्यालयको तर्फदेखि एकएक वटा मादल उपलब्ध गराइएको छ । सिङ्गाका वडाध्यक्ष खड्काको अध्यक्षता र सामुदायिक परिचालक सीता थापा कुँवरको सञ्चालनमा सम्पन्न तालिमको समापत्रसत्रमा सहभागी शान्ता पौडेलले अनुभव सुनाउनुभएको थियो । मादल नेपाली समाजको मौलिक राष्ट्रिय बाजा मानिन्छ भने छ सयवर्ष पहिलेदेखि मादल बजाउने गरिएको इतिहास रहेको छ ।

Leave a Reply