कालीगण्डकीमा रहेका शालग्राम शिलाको नामकरण अभियान थालिएको छ । नदीको उत्खनन्, शिलाको चोरी निकासी रोक्न र कालीगण्डकी सभ्यताको संरक्षण गर्न दश हजारभन्दा बढी शालग्राम शिलाको नामकरण गरी अभियान सुरू गरिएको हो ।

आइतबार प्रकृति र पर्यावरण तथा शालग्राम संरक्षण समिति जलजला गाउँपालिका र कुश्मा नगर समितिले म्याग्दीको पवित्र धार्मिकस्थल गलेश्वरधामदेखि पर्वतको प्रसिद्ध धार्मिक स्थल मोदीवेणी धामसम्म रहेका दश हजारभन्दा बढी शिलामा भगवानको नाम लेखिएको समितिका सचिव हरेमबहादुर खत्रीले जानकारी दिए ।

नामकरण अभियानको पहिलो दिन गलेश्वरधामदेखि पर्वतको मोदीवेणीसम्म पर्ने मुख्य घाटमा रहेका शिलाको नामकरण गरिएको हो । गलेश्वर, बगरफाँट, वारिबेनी, लस्ती, खनियाघाट, मालढुंगा, सहस्रधारा, नयाँपुल, गोपाङघाटहुँदै मोदीवेणीसम्मका शिलामा देवीदेवताका नाम लेखिएको सचिव खत्रीले बताए । अभियानका संयोजक तारा रेग्मी पाध्याका अनुसार, धेरै चोरी निकासी र उत्खनन् हुने कालीगण्डकी नदीको पर्वतखण्डका मुख्य घाटमा भजनकीर्तन र बाजागाजासहित पुगेका हजाराँै भक्तजनले विभिन्न रङले शिलामा नामकरण गरेका थिए ।

नदी किनारमा रहेका साना, ठूला, चक्राङ्कित, निष्चक्राङ्कित सबै शिलामा भगवानको नाम लेखिएको र बाँकी रहेका शिलामा हरेक एकादशी तिथिमा नामकरण गरिने छ । पछिल्लो समय कालीगण्डकी नदी किनारबाट मूर्ति निर्माण तथा शिला पूजनका लागि स्वदेश तथा विदेशमा समेत लैजाने क्रम बढ्दै गएको छ ।

 

Leave a Reply