हिमालपारीको जिल्ला मुस्ताङ निकै सुन्दर, आकर्षक र मनमोहक छ । यहाँ मार्फा, जोमसोम, कागबेनी, प्रसिद्ध मुक्तिनाथ मन्दिर, लोमान्थाङ, बहुचर्चित कोरला नाका, दामोदरकुण्डलगायत मुस्ताङका प्रमुख पर्यटकीय र धार्मिक गन्तव्यहरु हुन् । यहाँ प्राचीन गुफा, गुम्बा र तालहरु रहेका छन् । यसैमध्ये घरपझोङ गाउँपालिका–५, सम्लेगाउँमा पर्ने ढुम्बाताल पनि पछिल्लो समय पर्यटक आकर्षणको केन्द्र बन्दै जान थालेको छ ।


ढुम्बाताल मुस्ताङ पुग्ने पर्यटकहरुको मुख्य रोजाइमा पर्ने गर्दछ । निलगिरि हिमालको काखमा अवस्थित पर्यटकीय आकर्षणले भरिएको ढुम्बाताल आन्तरिक तथा बाह्य पर्यटकहरुको गन्तव्य बन्दै गएको हो । मुस्ताङको सदरमुकाम जोमसोम बजारदेखि २ किलोमिटरको दूरीमा पर्ने ढुम्बाताल दृष्य अवलोकन गर्नका लागि निकै आकर्षक मानिन्छ । जोमसोमदेखि ठिनी गाउँ हुँदै पुगिने यो ताल प्रकृतिको अनुपम उपहारको रुपमा रहेको छ । ढुम्बातालको उत्तरतर्फ निलगिरी हिमाल, पश्चिमतर्फ कुछपतेरङ गुम्बा र पूर्वतर्फ प्रसिद्ध घरपझोङ किल्ला रहेको छ ।


परापूर्वकालदेखि नै ढुम्बातालको शुद्ध जलको प्रयोग गरी गुम्बामा पूजाआजा गर्ने गरेको स्थानीयवासी बताउँछन् । ताल हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटक त्यहाँ पुग्ने गरेका छन् । हिउँदको चिसो मौसममा समेत पर्यटकहरु ढुम्बाताल जाने गर्दछन् ।

तालको नजिकैबाट मनोरम प्राकृतिक दृष्यको आनन्द लिन सहज होस् भनेर बस्नको लागि आरामदायी बेञ्च तथा फोटोसेसन गर्ने कुर्सीहरू राखिएको छ । तिनै कुर्सीहरू तथा बेञ्चमा बसेर आनन्द लिँदै पर्यटकहरुले तालको पृष्ठभूमीमा फोटो र भिडियो खिचेर रमाउने गर्छन् ।


समुन्द्री सतहदेखि २८ सय ३० मिटरको उचाइमा रहेको ढुम्बाताल पवित्र बौद्ध तालको रुपमा पनि प्रसिद्ध मानिन्छ । ढुम्बातालको लम्बाई १५० मिटर र चौडाई १०० मिटरको हाराहारीमा रहेको अनुमान गरिएको छ । केही वर्षअघि यस तालमा नेपाली चलचित्र ‘जेरी’को छायाङ्कन गरेपश्चात् नेपाली युवा पुस्ताहरुले यसलाई ‘जेरी ताल’को नामबाट पनि चिन्ने गरेका छन्भने तालमा अन्य स्वदेशी र विदेशी चलचित्रहरु पनि छायाङ्कन गरिएको छ ।


हिउँदको समयमा तालमा सतहको पानी जम्ने र ताल वरपरको भू–भागमा हिँउले ढाक्ने हुँदा थप आर्कषक देखिन्छ । तालको सतही भाग जमेको बेला छेउछाउमा पर्यटकले पैदल हिँडेर मनोरञ्जन लिने तथा सतहको पानी जमेको बेला त्यसमाथि स–साना बरफका टुक्राहरु फाल्दै र छेउछाउमा हिँड्दै गर्दा अन्त्यन्त रमाइलो हुने त्यहाँ पुग्ने पर्यटकहरुसँग अनुभव छ । ढुम्बाताल भ्रमणसँगै वरपरको दृश्यहरुको अवलोकन गर्न पाउँदा आफूलाई निकै आनन्दको अनुभूति मिलेको आन्तरिक पर्यटक ताराकुमारी पाण्डेले अनुभव सुनाउनुभयो ।


तालमा सिल्भर कार्भ, ग्रास कार्भ र केही मात्रामा असला प्रजातिका माछाहरु समेत पालिएको छ । स्थानीयले धार्मिक विश्वास र तालको सौन्दर्य बढाउन माछा पाल्ने गर्दछन् । ती माछाहरु कसैले मार्न पाइँदैन र माछाका लागि ताल संरक्षण समितिद्वारा तोकिएका आहारा मात्रै दिने व्यवस्था मिलाइएको छ । तालमा छाडिएका माछा पर्यटकहरुका लागि आकर्षण बन्ने गरेका छन् ।

ढुम्बातालसम्म पुग्नको लागि सडक र पदमार्ग बनाइएको छ । मुस्ताङको भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुमध्ये अधिकांश ढुम्बातालको अवलोकन गर्न जाने गरेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकालीले बताउनुभयो ।


गण्डकी प्रदेश सरकारले यसअघि प्रदेशभित्र रहेका विभिन्न १०० वटा पर्यटकीय गन्तव्यहरुको सूचीमा समेत मुस्ताङको ढुम्बाताललाई समावेश गरेपछि यहाँ भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

घरपझोङ गाउँपालिकाको आर्थिक सहयोगमा ढुम्बातालको संरक्षण र प्रवद्र्धन गर्नुका साथै तालसम्म पुग्ने सडक विस्तार, तालको वरिपरी घेराबार निर्माण तथा अन्य पर्यटकलक्षित संरचनाहरु निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिनुभयो ।।

Leave a Reply