शेखर दाहाल
वैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्ध पूर्णिमा बुद्धको जन्मदिन मात्र नभएर बुद्धले ज्ञानको साक्षात्कार गरेको र महापरिनिर्वाण प्राप्त गरेको दिन पनि हो । त्यसैले पनि बुद्ध अनुयायीहरूका लागि यो दिन अति पवित्र दिनका रूपमा रहेको हुन्छ ।
पूर्णिमा आफैँमा चन्द्रमाका षोडशकलाले परिपूर्ण पूर्ण चन्द्र भएको दिन हो । पूर्णिमालाई उज्यालो र अन्धकारबाट मुक्त गराउने ज्ञानको प्रतीक मानिन्छ । चन्द्रमाले सूर्यका तीखा किरणहरू आफूले लिएर लोकमा शीतलता छरेझैँ दुःखमय संसारबाट उन्मुक्तिका लागि सिद्धार्थ गौतमको त्याग, धैर्य र चिन्तनले अहिंसा र शान्तिको मार्ग जन्मायो । त्यसैले पनि अन्धकाररूपी कष्टमय जगतको बोध, सत्मार्गको अनुसरण र पूर्णता प्राप्तिको ज्ञान दिने बुद्धको जन्म, ज्ञानको साक्षात्कार र महापरिनिर्वाणको त्रिवेणी पनि पूर्णिमा नै बन्न पुग्यो ।
बुद्धले प्राप्त गरेको ज्ञान ४ आर्यसत्यको ज्ञान हो । बुद्धका सम्पूर्ण उपदेशहरू र बौद्ध वाङ्मयको विशाल भण्डार नै ४ आर्यसत्यको व्याख्यामा केन्द्रित छ । बुद्धले ज्ञान गरेका ४ आर्यसत्य भनेका दुःख, दुःख समुदय, दुःख निरोध र दुःख निरोध मार्ग हुन् अर्थात् १) संसार दुःखमय छ २) दुःखको कारण छ ३) दुःखलाई हटाउन सकिन्छ वा दुःखको निरोध हुन्छ र ४) दुख निरोधको मार्ग छ । सारा बौद्ध वाङ्मय दुःख निरोधको बाटो देखाउनमा नै केन्द्रित छन् ।
बुद्धले दुःख निरोधको मार्गमा पुग्नका लागि त्रिरत्न अर्थात् बुद्ध, धर्म र संघको शरणमा जानुपर्ने व्याख्या गरे । त्यसैले पनि अहिले बुद्ध अनुयायी मात्र होइन, बौद्ध चैत्य र गुम्बाहरू अवलोकनका लागि गएका धेरैले भन्छौँ- बुद्धं शरणं गच्छामि । धम्मं शरणं गच्छामि । संघं शरणं गच्छामि ।
त्रिरत्नको अनुसरणको अर्थ बुद्धमार्गको अनुसरणका लागि भिक्षुत्व ग्रहण गरेर संघमा प्रवेश गर्नुपर्छ भन्ने मात्र होइन, साधारण मानिसले बाहिरै बसेर पनि बुद्ध धर्म र संघको अनुसरण गर्छ र जीवन सार्थकताको बाटो भेट्टाउन सक्छ भन्ने हो ।
त्रिरत्नभित्रको पहिलो शब्द बुद्ध हो । बुद्धको शाब्दिक अर्थ नै ज्ञान हो । ज्ञानले अज्ञानता नष्ट गर्छ । बुद्धले पनि ४ आर्यसत्यमा अज्ञान अर्थात् कुत्सित् ज्ञानलाई दुःखको जननी मानेका पाइन्छ । कुत्सित् ज्ञानले कुविचार पैदा गर्छ । कुविचार र कुभावनाले मनमा अनावश्यक तृष्णा पलाउँछ । अनावश्यक तृष्णाले लोभ र ईर्ष्यालाई बढाउँछ ।
जब मानिसका मनमा कुविचार, कुभावना, लोभ र इष्र्याले आश्रय पाउँछन्, तब मानिस दुराचार, शोषण, भ्रष्टाचार, हिंसा र अशान्तिको मार्गमा हिँड्न थाल्छ । यस्तो मानिसले आफूलाई त बिगार्छ नै, उसले घर, समाज र राष्ट्रलाई पनि असर पुर्याउँछ । तसर्थ, मानिस भएर जन्मिएपछि ज्ञान-मार्गलाई आत्मसात् गर्नुपर्छ । ‘बुद्धं शरणं गच्छामि’ले दिएको शिक्षा पनि यही हो ।
त्रिरत्नभित्रको दोस्रो शब्द धर्म हो । धर्मको अर्थ हुन्छ धारण गर्नु । मानिसले धारण गर्ने कुरा भनेको मानवीय कर्तव्य हो । सद्ज्ञानबाट नै मानवीय कर्तव्यको बोध हुने हो । मानवीय कर्तव्यको सम्यक् अनुपालनबाट नै जीवनको सार्थकता सिद्ध हुने हो । बुद्धद्वारा प्रतिपादित दुःख निरोध मार्ग वा आर्य अष्टाङ्गिक मार्गका ८ वटा मार्गमध्ये पहिलो मार्ग नै सम्यक् दृष्टि वा सम्यक् ज्ञान हो । सम्यक् ज्ञानको धारण गर्नु मानवको पहिलो कर्तव्य हो । सम्यक् ज्ञानले के राम्रो, के नराम्रो भन्ने ज्ञान गराउँछ ।
कुशल वा राम्रो कर्मको ज्ञानले लोभ, दोष र मोहको परित्याग हुुन्छ । यसबाट कुशल कर्मप्रतिको निश्चितता जन्मन्छ । तसर्थ, सम्यक् सङ्कल्पको धारण नै मानिसको दोस्रो धर्म हो । सत्सङ्कल्पले नै द्रोहबाट शान्ति र हिंसाबाट अहिंसामा पुुर्याउने हो ।
शान्ति र अहिंसाको मार्गमा हिँडेको मानिसले असत्य, छल र कटुुवचनलाई परित्याग गर्न सक्छ । सम्यक् वचनको धारण मानिसको तेस्रो धर्म हो ।
सत्यवचनको अनुपालक वा सत्यवादीको कर्म पनि सत्य नै हुुन्छ । मनुुष्यको सद्गति र दुुर्गतिको कारक तत्त्व पनि उसको कर्म नै हो । सत्कर्मवादीहरूले नै लोकमा सफलता प्राप्त गर्ने हो । अतः सम्यक् कर्म मानवले धारण गर्नुुपर्ने चौथो धर्म हो ।
सत्कर्मबाट मानिसको आजीविका सुुध्रिन्छ । मानिसले कुुनै न कुुनै जीविकाविना जीवन धारण गर्न सम्भव छैन । तर, मानिसको जीविका प्रकृतिको अनावश्यक दोहन र प्राणीहरूको हिंसा र शोषणमा केन्द्रित हुुनुुहुुँदैन । सम्यक् आजीविका मानिसको पाँचौँ धर्म हो । मानवका लागि धारण गर्नुुपर्ने छैटौँ धर्म सम्यक् व्यायाम हो ।
व्यायमको अर्थ असल प्रयत्न र उद्योग हो । सत्कर्मप्रतिको दृढता, इन्द्रिय निग्रह, चञ्चल चित्तको निवारण, परसेवा वा परोपकार गर्ने उद्योगको अनुुसरण जस्ता धर्महरू यसअन्तर्गत पर्छन् । यिनै धर्महरूको धारणका लागि हामी भन्ने गर्छौं- धम्मं शरणं गच्छामि !
त्रिरत्नभित्रको तेस्रो शब्द संघ हो । संघको अर्थ हो समुदाय । संघ शरणले बुद्ध संघ प्रवेश मात्र नबुुझाएर परसेवा वा समुुदाय सेवा भन्ने पनि बुुझाउँछ । बुुद्धको ज्ञान समूूहको अनुुसरण पनि संघ शरण नै हो । यसले आफ्नो अहंकार र ममत्वको परित्याग हुुन्छ । यसबाट वस्तु, व्यक्ति र पदार्थप्रतिको आसक्ति भाव हटेर एकाग्रता उत्पन्न हुुन्छ । यसलाई नै सम्यक् स्मृति भनिन्छ ।
सम्यक् स्मृति नै जीवनको सार्थकता वा जीवनमुक्ति (निर्वाण)को रूपमा रहेको समाधिको सहायक बन्छ । त्यसैले हामी ‘संघं शरणं गच्छामि’ भन्छौँ ।
बुद्धको जन्म हाम्रो लुम्बिनीमा भएको थियो । हामी बुद्धका सन्ततिहरू हौँ । अहिंसा र शान्ति मार्गको अनुसरण गर्नुपर्छ । सबैप्रति मैत्रीभाव र करुणा दृष्टि राख्नुपर्छ । लोकको हित, सुख र समृद्धिबाट नै आफ्नो पनि हित, सुख र समृद्धि हुन्छ । सत्ज्ञानले सत्कर्म सिकाउँछ । सत्कर्मबाट नै जीवन र जगत् वा लोकको समृद्धि र मुक्ति सम्भव छ । यो नै बुद्धको ज्ञानको सार हो । यही सार नै हाम्रो परम्परा र संस्कृति पनि हो ।
तर, हाम्रो देशको वर्तमान समाज परहितभन्दा स्वहित, परसेवाभन्दा आत्मसेवा, शान्तिभन्दा द्रोह, अहिंसाभन्दा हिंसा र पीडन एवं आफ्नो भौतिक उन्नतिलाई नै जीवनको उपलब्धि ठान्ने विकृतिबाट ग्रस्त हुँदै छ । विकृतिबाट जीवन र जगतको मुक्ति सम्भव छैन । सत्ज्ञान, सत्कर्म र लोकहितको संस्कृतिबाट विमुख नहोऔँ । बुद्धं शरणं गच्छामि ! धम्मं शरणं गच्छामि ! संघं शरणं गच्छामिले पनि यही सिकाउँछन् ।