धार्मिक तथा पर्यटकीय गन्तव्य मालिका धुरी । समुद्री सतहदेखि तीनहजार तीनसय मिटरको उचाइमा अवस्थित मालिका धुरीबाट बिहानको सूर्योदय र बेलुकाको सूर्यास्त मज्जाले देख्न सकिन्छ । यसका साथै मनोरम हिमश्रृङ्खला, ग्रामीण भूगोल, मानव बस्ती, तरेली परेका पहाडका डाँडाकाँडा तथा थुम्कालगायत रमणीय दृश्यहरु देखिन्छन् ।

मालिका धुरीबाट धौलागिरि, गूर्जा, चुरेन, सिस्ने, मानापाथी, पुतली, पुथा, निलगिरि, अन्नपूर्ण, मनास्लु, माछापुच्छ्रे डेढ दर्जनभन्दा बढी हिमालसहित म्याग्दीको ३५ वटाभन्दा बढी गाउँ, लोपोन्मुख वन्यजन्तु, चराचुरुङ्गी, वनपैदावर, लालीगुराँस, जडीबुटीलगायत अवलोकन गर्न सकिन्छ । मालिका धुरीमा रहेको मालिका, कालिका र जालपाको दर्शन तथा पूजाअर्चना गरेमा मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ ।

म्याग्दीको सदरमुकाम बेनीबाट पैदलयात्रा गरी दुई दिन र यातायातमार्फत एकैदिनमा सजिलोसँग मालिका धुरी पुग्न सकिन्छ। मालिका गाउँपालिका–७ बिम, ६ नम्बर वडा दरबाङको दुखु तथा रघुगङ्गा गाउँपालिका–६, पाखापानीमा रहेको ठाडाखानी गाउँको सिरानमा मालिका धुरी पर्दछ । यहाँ पुग्नका लागि बिम, दुखु, ठाडाखानी र पर्यटकीय क्षेत्र टोड्केको बाटो भएर जान सकिन्छ । मन्दिरमा बैशाख पूर्णिमा, जेष्ठी पूर्णिमा, भाइटीकाको दिम पूजाआजा हुन्छ । मालिकामा पूजाआजाका लागि पुग्ने भक्तजन सत्तल र ओढारमा कष्टप्रदरूपमा रात कटाउन बाध्य छन्। यसपटक खानेपानीको सुविधा थपिएको छ ।
तस्वीर सौजन्य शिव गौतम

Leave a Reply