राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रतिनिधि सभामा सहकारी ठगी प्रकरणमा छानबिन समिति गठनको माग गरेको छ ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा सुरुमै समय मागेर बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सहकारी पीडितहरुको अवस्थामा गम्भीर बनेकोतर्फ ध्यानाकर्षण गराउँदै सहकारी ठगी प्रकरणमा छानबिन समिति गठन आवश्यक रहेको बताए ।

वर्तमान गृहमन्त्री रवि लामिछाने प्रतिपक्षमा रहँदा सहकारी ठगी प्रकरणमा छानबिन आवश्यक रहेको बताउने गरेको स्मरण गराउँदै शाहीले अहिले छानबिन समिति नै गठन नुहुन दुःखद् भएको टिप्पणी गरे ।

उनले भने, ‘सहकारीपीडितहरु सडकमा छन् । नेपाली जनतालाई मार्न पाउने अधिकार कसैलाई छैन । मुटु छ कि छैन गृहमन्त्री ज्यू ? डराएको हो ? फिर्ता पठाएको हो ?’

नेपाली कांग्रेसका सांसदहरुले सहकारी ठगी प्रकरणमा छानबिनको माग गर्दै प्रतिनिधिसभाको आइतबारको बैठकमा पनि नाराबाजी गरेका छन् । उनीहरुको नाराबाजीका बीच सभामुख देवराज घिमिरेले बैठक कार्यसूचीमा प्रवेश गराएका छन् । अहिले अर्थमन्त्री वर्षमान पुनःले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् ।

Leave a Reply