लोपोन्मुख भाषा,संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तालाई आफ्नो पुख्र्यौली पहिचान हस्तान्तरण गर्ने उद्धेश्यले म्याग्दीमा मगर भाषा, थाली र कौडा नाँचको प्रशिक्षण आयोजना गरिने भएको छ ।

नेपाल मगर संघ म्याग्दीको आयोजनामा सोमबार (भोलि) देखि आयोजना हुने उक्त १५ दिने प्रशिक्षणमा मगर भाषा र मगर संस्कृतिका जानकार दानबहादुर आलेले प्रशिक्षण दिनुहुने नेपाल मगर संघ म्याग्दीका सचिव हिरा पुनले जानकारी दिनुभयो।

मगर वाहुल्य जिल्ला म्याग्दीमा मगर भाषा र लिपिको बारेमा नयाँ पुस्तालाई जानकारी दिने र पुर्खाको विरासतको रुपमा रहेको मगर संस्कृति र परम्परालाई जोगाइ राख्ने उद्धेश्यले प्रशिक्षणको आयोजना गरिएको सचिव पुनले बताउनुभयो ।
२०७८ को जनगणना अनुसार एक लाख,सात हजार ३३ जनसंख्या रहेको म्याग्दीमा मगर जातीको मात्रै ४३ प्रतिशत अर्थात् ४६ हजार २५ जनसंख्या रहेको छ ।

जिल्लामा गत वैशाखमा मगर जातिको उत्पत्ती, दर्शन र मगरात सभ्यताको अध्ययन–अनुसन्धान समेत गरिएको थियो । नेपालमा जातिगत जनसंख्याको हिसाबले मगर नेपालको तेस्रो ठूलो जाति हो भने आदिवासी जनजाति समुदायको पहिलो हो।

म्याग्दीमा करिव चार सय वर्ष अघि गुमेको मगर ‘ढुट’ भाषाको बारेमा पछिल्लो समय चासो वढ्न थालेको पाइएको छ । सातवर्ष अघि बेनीमा नेपाल मगर संघले प्रशिक्षण कक्षा सञ्चालन गरेर मगर भाषा सिकाउन थालेको थियो ।

तर निरन्तरता नपाउँदा सिक्न चाहना भएकाहरुले समेत सिक्ने अवसर नपाएको अवस्थामा अहिले मगरभाषाका साथै मगर संस्कृतिका धरोहर मानिने थाली र कौडा नाँचको प्रशिक्षण राखिएकोले सम्पूर्ण मगर समुदायलाई उक्त अवसरको फाइदा लिन मगर संघ म्याग्दीले अनुरोध गरेको अध्यक्ष लोकेश पुन मगरले बताउनुभयो ।

मल्लकालमा तत्कालीन राज्य सञ्चालकले फरकफरक भाषा बोल्दा गोपनीयता भङ्ग हुने, सुरक्षामा असर र सूचना आदानप्रदान गर्न असहज भएको भन्दै मगर भाषा बोल्न प्रतिबन्ध लगाएका मगर समुदायको जेष्ठ नागरिकहरुको भनाइ छ ।

१८ मगरात क्षेत्रअन्तर्गत पर्ने म्याग्दी र बागलुङमा सन १६सयमा आफ्नो भाषा बोल्ने मगर समुदायलाई दण्ड, जरिवाना गर्न थालिएपछि बोलीचालीमा प्रयोग गर्न छाडेका बताइन्छ । त्यसयता मगर भाषा बोलीचालीको प्रचलनमा छैन । म्याग्दीको बस्तीको नामाकरण र बोलीचालीमा मगर भाषाको लवज आउने गरेको पाइन्छ ।

Leave a Reply