पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–६, मराङमा आइतबारदेखि सचेतनामूलक तालिम सुरु भएको छ । ‘हाम्रो अभियान, समृद्ध धवलागिरि निर्माण’ भन्ने मूल नारासहित धवलागिरि ६ नम्बर वडा कार्यालयको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।

वडाका जनप्रतिनिधि, कर्मचारी तथा समाजका अगुवाहरुलाई लक्षित गरेर सचेतनामूलक तालिम सुरु गरिएको वडा कार्यालय मराङले जनाएको छ । तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका सदस्य श्रीप्रसाद गर्बुजाले तालिम एकदमै जीवनपयोगी रहेकाले सक्रिय रुपमा सहभागिता जनाएर तालिमबाट दैनिक जीवनमा काम लाग्ने जानकारीहरु हासिल गर्नुपर्ने बताउनुभयो ।

तालिम उद्घाटनसत्रको समापन गर्दै मराङका वडा अध्यक्ष राजाराम उपाध्यायले जनप्रतिनिधि, कर्मचारी र अगुवाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित तालिम आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले तालिममा सहभागी सबैलाई सक्रियतापूर्वक सहभागी भई ज्ञान, सिप हासिल गर्न सुझाव दिनुभयो । तालिमका वरिष्ठ प्रशिक्षक एवं सामािजक अभियन्ता मुक्तिप्रसाद ढुङ्गानाले तालिम समयसापेक्ष र जनमुखी हुनुका साथै सभा, समारोहमा बोल्न सक्ने क्षमताको विकास तथा मानवअधिकार र मौलिक हकको सुरक्षामा अग्रसर हुन सहयोग पुग्ने बताउनुभयो ।

मराङका वडाध्यक्ष उपाध्यायको अध्यक्षता, जिसस सदस्य गर्बुजाको प्रमुख आतिथ्य, वडा सचिव विशाल रोकायाको सञ्चालन र वडा सदस्य गमन जुग्जालीको स्वागतमा सम्पन्न तालिमको उद्घाटनसत्रमा स्थानीय अगुवा केशवबहादुर गर्बुजाले मन्तव्य व्यक्त गर्नुभएको थियो । तालिमको वरिष्ठ प्रशिक्षक ढुङ्गाना र प्रशिक्षक तथा पत्रकार प्रताप बानियाँले सहजीकरण गरिरहनुभएको छ ।

तीन दिनसम्म सञ्चालन हुने तालिममा सचेतना, उद्घोषक, उद्घोषणकला, उद्घोषकमा हुनुपर्ने ज्ञान, सिप, ध्यान दिनुपर्ने विषयहरु, भाषणकला, स्वागत एवं शुभकामना व्यक्त गर्ने तौरतरिका, नागरिक र न्यायिक समितिको काम, कर्तव्य, अधिकार तथा मौलिक हक र अधिकारको विषयमा सहजीकरण गरिने जनाइएको छ ।

Leave a Reply