गणतन्त्र दिवसको अवसरमा बेनी नगरपालिका-९ गलेश्वरमा अवस्थित जेष्ठ नागरिक आश्रममा रहेका जेष्ठ नागरिक, संस्कृत विद्यालयका विद्यार्थीलाई भोजन गराइएको छ ।

सोमबार गणतन्त्र दिवस मुल समारोह समितिको आयोजना तथा म्याग्दी उद्योग बाणिज्य संघको ब्यवस्थापनमा गलेश्वर पुलस्तय अन्न क्षेत्र रहेका ज्येष्ठ नागरिक, संस्कृत विद्यालयमा अध्ययनरत विद्यार्थी गरी १ सयभन्दा बढीलाई भोजन गराइएको हो ।

सन्तानबाट तिरस्कृत भएका तथा बेसाहरा ज्येष्ठ नागरिकलाई कुनैपनि अभाव हुन नदिने गरी ब्यवस्थापन गर्नुपर्नेमा जिल्ला समन्वय समितिका प्रमुख एवम् मुल समारोह समितिका संयोजक राजकुमार थापाको भनाई थियो ।

घरपरिवार छोडेर आश्रममा बस्नुपर्ने बाध्यतालाई बुझेर स्वास्थ्य, खानपिन, लत्ताकपडा सहितका आधारभुत आवश्यकतालाई विषेश ध्यान दिनुपर्ने म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताए । आश्रममा म्याग्दीका साथै देशका विभिन्न जिल्लाबाट आएका करिव ८० बृद्धबृद्धाको बसोबास रहेको छ ।

घरपरिवारमा छोराछोरी भएका बृद्धबृद्धालाई समेत बोझ भन्दै आश्रममा छोडेर गएपछि अहिले संख्या बढेको छ । भोजन कार्यक्रममा नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुबेदी, नेकपा माओवादी केन्द्रका अध्यक्ष शेरबहादुर केसी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, जिल्ला समन्वय समितिकी उपप्रमुख दिलकुमारी खत्री लगायतको उपस्थिती रहेको थियो ।

भोजन तथा दक्षिणा वितरण कार्यक्रमको सञ्चालन म्याग्दी उद्योग वाणिज्य संघका महासचिव नारायण जिसीले गरेका थिए । म्याग्दीमा गणतन्त्र दिवस प्रभातफेरी, बिरेन्द्रचोकमा दीप प्रज्वलन, ४० बर्ष देखि माथिका उमेर समूहका लागि बेनी अस्पतालमा निःशुल्क आधारभूत आँखा जाँच शिविर तथा जिल्लाका सबै स्थानीय तहमा गणतन्त्र दिवस मनाइने बताइएको छ ।

Leave a Reply