अन्नपूर्ण गाउँपालिका–३ दानाको गुइठेभीरमा माथिबाट खसेको पहिरोले मुस्ताङबाट भारतीय तिर्थयात्री बोकेर आउँदै गरेको जिपमा क्षती पुगेको छ ।

गएराती अविरल बर्षासँगै माथिबाट खसेको पहिरोले सवारीसाधनमा क्षती पुगेपनि यात्रु सकुशल रहेको स्थानीयले बताएका छन् । ‘पहिरो खस्न लागेपछि यात्रुहरु निस्किएर जोगिए, जीपमा क्षती पुगेको छ ’ दानाका पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले भने । भारतीय नम्बरको जीपलाई बाहिर निकालेर सवारी आगमन सुचारु गर्ने तयारी भइरहेको छ ।

गण्डकी प्रदेशको लाइफ लाइन घोषित राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना सडकखण्ड अन्तरगत जलथल क्षेत्र, गुइठे भीर,सुकेबगर, खामभिता, दाना, लाते खोला, रुप्से खोला र काभ्रेभीर क्षेत्रका खण्ड बाढीपहिरोले सताउने गरेको छ ।

गुइठेभीरमा सामान्य बर्षा हुदाँ समेत भीरबाट पहिरो खस्ने भएकाले सर्तकता अपनाउनुपर्ने स्थानीयबासीको भनाई छ । मुस्ताङको थार्साङ गाउँपालिकादेखि म्यादीको गलेश्वरसम्म भू–बनोट पानी परिरहने, पहिरो जाने, जमीन भासिने समस्याले सडक विस्तारमा समेत असर गरेको छ ।

Leave a Reply