म्याग्दी जिल्लामा रहेकामध्ये पुरानो पर्व धुले मेलाको बरंजामा सुरू भएको छ । म्याग्दीको मंगला गाउँपालिका वडा नं ३ र ४ बरंजा गाउँमा तीनसय २० वर्ष पहिलादेखि लगाउन सुरु भएको मेलाको पहिलो दिन मंगलबार मेलाको पहिलो दिन पितृ चढाएर सुरुवात गरिएको मंगला गाउँपालिका-४,बुकेनीस्थित गांम्फा युवा क्लबका संस्थापक अध्यक्ष दुर्गा रोका मगरले बताए ।

उनका अनुसार दोस्रो दिन बुधबार प¥याङ हाल्ने र तेस्रो दिन होरे खेलेर धुले पर्व मनाउने पुरानो चलन रहेको छ ।
धुले मेला मनाएपछि मगर समुदायका पितृ खुशी हुने किम्बदन्ती समेत धुलेमेलाका अनुसन्धानकर्ता अमर रोकाको भनाई छ। प्राचिनकालमा मानवको विकाससँगै घुमन्ते युगबाट सुरू भएको मेलालाई पछिल्लो पुस्ताले समेत निरन्तरता दिएको छ ।

बरंजामा मानवबस्तीको विस्तारसँगै राम्जाली रोका,बझाङ्गी रोका,पुन,मर्चथोके रोका,मास्ना घर्ती,दर्लामी घर्ती,सुतप्राइ घर्ती,बुढाथोकी र फगामी घर्ती नौथरका पुर्खाहरु मिलेर घुम्दै हतियार धनुष बाण बोकेर जङ्गली जनावरको सिकार गर्दै,तरुल,भ्याकुर खोजेर खादै आफ्ना पारिवार सहित बरंजामा पुगेपछि बस्नका लागि उपयुक्त रहेको भन्दै बसोबास गरेको इतिहास छ ।

बरङ्जा क्षेत्रमा रहेका ९ थरका ५४ कुरिया मगरहरुको ७ देखि १३ पुस्तासम्म पुगेको पाइएकाले सरदरमा ७ पुस्ता ४५ वर्षका दरले बचेको भन्ने आधारमा पनि तीनसय २० वर्ष पहिलादेखि यस क्षेत्रमा धुले मेला लगाउने गरिएको ५४ कुरिया मगर समुदायको भनाई छ । आगादेव पूजामा अन्य समुदायको प्रवेश निषेध हुन्छ ।

मेला तथा पूजा हुने कोतभन्दा केही टाढा अन्य समुदाय पनि जान पाइन्छ । तर कोतघर नजिक ५४ कुरिया बाहेकका कसैलाई पनि जान निषेध गरिन्छ । बराङ्जाका घर्ती, रोका, बुढाथोकी र पुन मगर समुदायका ५४ घरधुरीले आफ्नो क्षेत्रमा परम्परागत नियम बनाउने क्रममा धुलेमेलाको नामाकरण भएको थियो ।

म्याग्दी जिल्लामा परापुर्वकालदेखि नियमित सञ्चालन भइरहेको मेलाको रुपमा समेत चिनिने धुलेमेला पृत्रिको सम्झना, पूरानो कला र संस्कृतिको जर्गेनासँगै नयाँ पुस्तालाई समेत जानकारी दिने गरी मनाउने गरिन्छ । पछिल्लो समय ५४ घरधुरीले मनाउने धुले मेला सबै बरंजाबासीकोे पहिचान बनेको छ भने अन्य बस्तीमा बसोबास गर्नेहरु समेत पृत्रिको सम्झना गर्न मेलास्थलमा पुग्ने गरेको पाइन्छ ।

मंगला गाउँपालिकाले धुले मेलालाई धार्मिक तथा पर्यटन प्रर्वधनमा समेत महत्वपूर्ण रहेकाले निरन्तर संरक्षण अभियानका सघाइरहेको छ । गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले धुलेमेला प्राचिनकालको सुन्दर उपहार भएको बताए । उनले परापुर्वकालमा पुर्खाले छोडेका धार्मिक परम्परालाई आधुनिक युगमा समेत संरक्षणमा भइरहेको एउटा नमुना धुलेमेला भएको बताए ।

File photo

Leave a Reply