पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–६, मराङमा तीन दिनसम्म सचेतनामूलक तालिम सम्पन्न भएको छ । ‘हाम्रो अभियान, समृद्ध धवलागिरि निर्माण’ भन्ने मूल नारासहित धवलागिरि ६ नम्बर वडा कार्यालयको आयोजनामा तालिम सञ्चालन गरिएको थियो ।

वडाका जनप्रतिनिधि, कर्मचारी तथा समाजका अगुवाहरुलाई लक्षित गरेर सचेतनामूलक तालिम सञ्चालन गरिएको वडा कार्यालय मराङले जनाएको छ । स्थानीय सरोकारवालाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको वडाको भनाइ छ । आइतबारदेखि मङ्गलवारसम्म तीन दिन चलेको तालिमको वरिष्ठ प्रशिक्षक मुक्तिप्रसाद ढुङ्गाना र प्रशिक्षक तथा पत्रकार प्रताप बानियाँले सहजीकरण गर्नुभएको थियो ।

तालिम अवधिभरमा सचेतना, उद्घोषण, उद्घोषणकला, उद्घोषकमा हुनुपर्ने ज्ञान, सिप, ध्यान दिनुपर्ने विषयहरु, भाषणकला, स्वागत एवं शुभकामना मन्तव्य व्यक्त गर्ने तौरतरिका, नागरिक र न्यायिक समितिको काम, कर्तव्य, अधिकार तथा मौलिक हक र अधिकार एवं कानुनी साक्षरतासहित विविध विषयहरुमा सहजीकरण गरिएको थियो । साथै तालिममा सहभागीहरुलाई प्रयोगात्मक अभ्यास समेत गराइएको थियो ।

तालिममा सिकाइएका र सिकेका ज्ञान, सिपलाई आगामी दिनमा अभ्यासमार्फत निरन्तरता दिन सहभागीलाई सुझाव दिइएको छ । तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरणपछि तालिम समापनसत्रमा सम्बोधन गर्दै धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले तालिमको अवधिमा सिकेको ज्ञान तथा सिपलाई पूर्ण रुपमा व्यहारमा उतार्न सहभागीलाई सुझाव दिनुभयो ।

उहाँले गाउँपालिकाले सबै वडामा स्थानीयवासी र सरोकारवालाको क्षमता अभिवृद्धि गर्न विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालनमा जोड दिएको बताउँदै बजेट नजिकिँदै गरेको अवस्थामा आफ्नो गाउँ, टोल र वस्तीमा आवश्यक पर्ने योजनाहरु छनोट गरेर पठाउन सहभागीलाई आग्रह गर्नुभएको छ ।

सोही कार्यक्रममा बोल्दै धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले सचेतना तालिममार्फत समुदायस्तरमा बालविवाह न्यूनीकरण, बालअधिकार तथा महिला हक अधिकारको बारेमा सचेतना फैलाउन सहभागीलाई सुझाव दिनुभयो।

तालिमको समापन गर्दै मराङका वडा अध्यक्ष राजाराम उपाध्यायले जनप्रतिनिधि, कर्मचारी र अगुवाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित तालिम आयोजना गरिएको हुँदा तालिममा सिकेको ज्ञान, सिपलाई दैनिक जीवनमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा धवलागिरि–२, लुलाङका वडाध्यक्ष अकप्रसाद विक र ४ नम्बर वडा मुदीका वडाध्यक्ष यामप्रसाद घर्तीले शुभकामना मन्तव्य व्यक्त गर्दै आफूहरुको वडामा पनि सचेतनामूलक तालिम कार्यक्रम सञ्चालन गरी स्थानीयको क्षमता अभिवृद्धि गर्नुका साथै बोल्ने कलाको विकास गरिने बताउनुभएको छ ।

समापनसत्रमा तालिमका सहभागीद्वय निशा केसी र सन्ध्या केसीले अनुभव सुनाउनुभएको थियो । मराङका वडाध्यक्ष उपाध्यायको अध्यक्षता र सहभागी धनकुमारी रोकाको सञ्चालनमा सम्पन्न कार्यक्रममा अर्का सहभागी लक्षुमन सुवेदीले स्वागत गर्नुभएको थियो ।

तालिमका प्रशिक्षकलाई वडामार्फत प्रशंसापत्रसहित सम्मान, अतिथिहरुलाई मायाको चिनो प्रदान तथा सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो । तालिमका सहभागीहरुले तालिम अत्यन्तै राम्रो र प्रभावकारी रहेकाले आगामी दिनमा पनि वडास्तरमा यस्ता सचेतनामूलक तालिम, क्षमता अभिवृद्धिका कार्यक्रम र उद्घोषणकलाको तालिम सञ्चालन गर्नुपर्ने माग गरेका छन् ।

Leave a Reply