म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सुरक्षित र गुणस्तरीय पर्यटन प्रवद्र्धन सीपयुक्त जनशक्ति उत्पादन गर्ने उदेश्यले स्थानीयस्तरमै ट्रेकिङ गाइड उत्पादन गर्ने भएको छ ।

म्याग्दी जिल्लाकै प्रमुख पर्यटकीयस्थलहरू रहेको गाउँपालिकाको पर्यटन क्षेत्रमा भएको जनशक्ति अभाव कम गर्न संस्कृति, पर्यटन तथानागरिक उडड्यन मन्त्रालय अन्तर्गत रहेको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानसँग सहकार्य गरी गाइडहरुलाई ३५ दिने तालिम दिने भएको हो ।

अन्नपूर्ण गाउँपालिका भित्रका पर्यटकीयस्थलमा पदयात्रा र पर्वतारोहणका लागि आउने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी तालिम दिने प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताउनुभयो ।

‘यहाँका पर्यटकीयस्थलका बारेमा स्थानीयलाई धेरै जानकारी छ, गाइडको पाठ्क्रम सहितको तालिमले दक्ष जनशक्ती तयार हुन्छ’ सुबेदीले भन्नुभयो । अन्नपूर्ण गापा–४ नारच्याङमा तालिम सञ्चालन गरेपछि रजिष्टर गाइड मान्यता दिने गरी प्रमाणपत्र दिइनेछ।

गाउँपालिकाले तालिममा सैद्धान्तिक र व्यावहारिक विषयवस्तुको संयोजन सहित ट्रेकिङ , भूगोल, वातावरण, नेपाली धर्म, इतिहास, अन्तरसांस्कृतिक पर्यटन व्यवहार, पदयात्रा र पर्वतारोहण, पदयात्रा सुरक्षा, जोखिम लगायतबारे प्रशिक्षण दिइनेछ। गाउँपालिका अध्यक्ष भरतकुमार पुनले स्थानीय पर्यटन क्षेत्रमा आउने पर्यटकलाई सहज यात्रासँगै मौलिकता झल्काउने गरी गाइडलाई तालिम दिने बताउनुभयो । ३५ दिनको तालिमबाट गाइडको अनुभवका लागि पर्यटकीयस्थलमा समेत खटाइने छ।

३५ दिनको तालिम औपचारिकता दिन ब्यवहारिक अभ्यास समेत गराइने छ । विदेशी पर्यटकसँग सम्वाद गर्न सहज, ग्रामिण तथा जोखिमपूर्ण यात्रामा समेत पर्यटकलाई सुरक्षित रुपमा गन्तब्यसम्म पुर्याउने, पदयात्राको व्यवस्थापन, पर्वतारोहणमा समेत जान सक्नेहरुलाई गाउँपालिकाले नै प्रचारप्रसार गरी रोजगारीको वातावरण बनाउने जनाइएको छ ।

नेपाल माउन्टेन एकेडेमीले नेपालमा दक्ष गाइडहरु उत्पादन गर्ने गरेको छ। गाइड तालिमका लागि आवासीय सहितको सुविधा रहेकाले इच्छुकले गाउँपालिकामा सम्पर्क गर्न सक्नेछन् । यसै महिनादेखि तालिम सञ्चालन हुने जनाइएको छ ।म्याग्दीमा बार्षिक भित्रिने स्वदेश तथा विदेशी पर्यटकको करिब ७० प्रतिशत उत्तरी म्याग्दीले ओगट्ने गरेको छ ।

Leave a Reply