म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं १ तिप्ल्याङमा सडक माथिबाट खसेको पहिरो पन्छाएसँगै सवारी आवागमन पुनःसञ्चालन भएको छ । शुक्रबार दिउँसो हावाहुरीसँगै भिषण बर्षा हुदाँ पाखोबाट खस्ने ढुङ्गा र पहिराको अवरोध हटाएपछि दुईतर्फी सवारीसाधन सञ्चालन भएको प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताए ।

उनका अनुुसार पहिरोले गुडिरहेका सवारीसाधनलाई क्षति पुग्न सक्ने र यात्रुलाई चोटपटक लाग्न जोखिमलाई मध्यनजर गरी सडकखण्डका विभिन्न स्थानमा समेत प्रहरी परिचालन गरिएको थियो ।

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकखण्डमा यो क्षेत्र समेत पहिरोको जोखिममा रहेकाले सतर्कता अपनाउन समेत अनुरोध गरिएको छ । कमजोर भू–बनोट र कालीगण्डकी नदीको कटानका कारण हिउँदमा सुक्खा पहिरो र वर्षामा बाढीपहिराका कारण सडकमा ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।

कूल ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक बर्खाको समयमा दर्जनौ स्थानमा अवरुद्ध हुने गरेको छ। भिरमाथिको पाखो भूमिगत पानी र पहिराले चिराचिरा भएर सडकमा पहिरो खसिरहने हुँदा जोखिमका साथै सडक अवरुद्ध हुने गरेको छ । सडकमा थुप्रिने बाढी र पहिरोको अवरोध कालीगण्डकी करिडोरले डोजरको सहायताले पन्छाउने गरेको छ ।

Leave a Reply