वि.सं. १३१२ देखि मनाउँदै आएको दावी गरिएको मंगला गाउँपालिकाको बरङ्जा क्षेत्रमा मनाइने धुलेको सम्पूर्ण विधि यस वर्ष सकिएको छ । औपचारीक विधि थालनी भएको १०  दिनमा धुलेको सबै विधि सकिएको हो ।

गत जेठ ८ गते आफ्नो पौराणीक विधि पुरा गरेर जाँड राखेपछि शुरु भएको धुलेको मुख्य विधि मंगलबार देखि बिहीबार सम्म तीन दिन चलेको थियो । बरङ्जा नजिकै रहेको अर्जेखोलामा गएर माछा सिकार गरेर ल्याएर विधिपूर्वक पितृ चडाउने काम मंगलबार भएपछि बरङ्जा क्षेत्रमा काम बारिएकोमा धुलेको होरे भएपछि डोठो तानेपश्चात काम फुक्नुका साथै धुलेको बिधि पनि औपचारीक रुपमा सकिएको धुले मेला व्यवस्थापन समितिका अध्यक्ष रनबहादुर रोकाले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘मंगलबार पितृ चडाउने र काम बार्ने, बुधबार पराङ हाल्ने र बिहीबार मुख्य बिधि गरेर होरे पछि डोठो तानेपश्चात यस वर्षको धुले औपचारीक रुपमा समापन भएको हो ।’ धुलेको बिधि सकियो अब भोलीबाट केही खेलहरु हुन्छ–उहाँले भन्नुभयो ।

नेपालकै सबै भन्दा पुरानो धार्मिक पर्व रुपमा लिइने धुले मंगला गाउँपालिका वडा नं ३ र ४ बरङ्जा गाउँमा बसोबास गर्दै आएको ५४ कुरिया मगरहरुको आफ्नो मौलिक संस्कार हो ।  ५४ घर कुरिया मगरहरुले बि.सं. १३१२ मा बरङ्जाको थर्पुमा कोत घर निर्माण गरेसंगै धुले मनाउन थालेको तथ्यहरु भेटिएको बरंजा सातबिसेका तुकप्रसाद रोकाले जानकारी दिनुभएको मंगला गाउँपालिका–४ बुकेनीका बुद्धिबहादुर घर्तीले बताउनुभयो ।

तत्कालिन समयमा ९ वटा फरक थरका ५४ घर मगरबाट सुरु भएको सो पर्वको मुल विधि प्रत्येक वर्ष जेठको तेस्रो वा चौथो मङ्गलबार सुरु भएर बिहीबार व्यवस्थापन समितिका अध्यक्ष रोकाको भनाई छ ।

५४ कुरिया मगरहरुको राम्जाली रोका, बझाङ्गी रोका, पुन, मर्चथोके रोका, मास्ना घर्ती, दर्लामी घर्ती, सुतप्राइ घर्ती, बुढाथोकी र फगामी घर्ती गरी नौथरका पुर्खाहरु मिलेर घुम्दै १३ औं सताब्दीको शुरुमा यस क्षेत्रमा आएर बसोबास गर्न थालेको तथ्यहरुले देखाएको मान्न सकिने अध्यक्ष रोकाको भनाई छ । धुले मेला भन्दै गर्दा पनि ५४ कुरिया मगरहरुको कुलपुजा रहेको उनीहरुको भनाई छ । हरेक वर्ष कुलपुजा गरिने र त्यसलाई अलिक भव्य बनाउनका लागि पनि केही निश्चित समय लिने गरेको स्थानीयको तर्क छ ।

Leave a Reply