म्याग्दीको मंगला गाउँपालिका-१,को दिपशिखा माविकी फोरेष्टी क्लवकी अध्यक्ष सुस्मिता विक आइतबार साथीहरूसँग विद्यालय नजिकै रहेको खेतबारीमा व्यस्त थिइन् ।

विद्यालयको १ रोपनी ७ आना जग्गामा तरकारी खेतीका लागि क्लवमा आवद्ध ११ जना विद्यार्थी तरकारी खेतीका लागि झाँडी सरसफाई, खनजोत, मल बोक्ने लगायका काममा व्यस्त छन् ।

विद्यालयले पढाइसँगै तरकारी खेतीका लागि जमिन उपलब्ध गराएपछि यसबर्षदेखि तरकारी खेती सुरु गरिएको क्लवकी अध्यक्ष विकले बताइन् । ‘हाम्रो अभियानमा शिक्षकले सघाइरहनुभएको छ, अब आधुनिक प्रविधिको प्रयोग गरी तरकारी खेती गछौं’ विकले भनिन् ।नाफा घाटाभन्दा पनि अर्गानिक कृषि उत्पादन गर्ने लक्ष्य रहेको विकको भनाई छ ।

यता विद्यालयका प्रधानाध्यापक डा. नन्दबहादुर खत्रीले विद्यार्थीलाई पिस कोरका प्रतिनिधिले प्राविधिक तालिम समेत दिइरहेको बताए । ‘परीक्षण उत्पादन राम्रो भएपछि थप जग्गा उपलब्ध गराउँछौ, अर्गानिक उत्पादन राम्रो भएपछि दिवा खाजामा समेत प्रयोग गछौ’ प्रअ खत्रीले भने ।

बन्दा, काउली, केराउ, मुला, साग, सिमी, केराउ प्रजातिका तरकारी लगाएका छन् । विद्यार्थीलाई प्रयोगात्मक, व्यावसायिक र व्यावहारिक सिकाइतर्फ केन्द्रित गर्न विद्यालयमै उत्पादन भएको तरकारी दिवा खाजामा प्रयोग गर्ने गरी आगामी बर्षदेखि बजेट समेत विनियोजन गरिने बताए ।

गाउँको जमिन बाँझिने क्रम बढेकाले विद्यार्थीको यो रचनात्मक कार्यलाई प्रोत्साहन गरिने वडा अध्यक्ष एकजित रोकाले बताए । कमाउँदै सिक्दै गर्ने कार्यक्रमलाई प्रोत्साहन गर्ने योजनालाई सघाउने वडा अध्यक्ष रोकाको भनाई छ । मंगला गाउँपालिकामा शैक्षिक गुणस्तरमा समेत दिपशिखाले हरेक बर्ष उत्कृष्ट नतिजा निकाल्ने गरेको छ।

Leave a Reply