म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ पञ्चकुण्ड ताल र आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरबाट देखिएको दृष्य । तस्बिर : सन्तोष गौतम/ रासस

अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७४ औं दिवसको अवसरमा पोखरामा आइतबारदेखि तीनदिने कार्यक्रम आयोजना गरिएको छ । नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुखहरू पोखरामा छन् ।

पोखरा आसपासमा, पदयात्रा, म्याराथुन लगायतका कार्यक्रमहरूमा विदेशी र नेपालका उच्चपदस्थ अधिकारीहरू जमघट बाख्लो छ । पोखरामा अन्नपूर्ण आरोहण दिवस भव्य तामधामका साथ मनाइरहदाँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४,नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर)को आधार शिविर भने सुनसान छ ।

हरेक बर्ष दिवसको अवसरमा ५० लाखभन्दा बढी खर्च हुन्छ । गाउँपालिकाको केन्द्र पोखरेबगरबाट एक दिनमै पुग्न सकिने बेसक्याम्पमा यसपटक पनि दिवसमा कुनै सरकारी तथा निजी क्षेत्रको नजर पुग्न सकेन ।

नेपालमा ‘जेठो हिमाल’ भनेर समेत चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्रसम्म पुग्ने ‘मौरिस हर्जोग पदयात्रा’,अन्नपूर्ण म्याराथुन, सम्मान तथा मुर्तीको प्रतिस्थापन, गाउँपालिकाभरी सार्वजनिक विदा लगायतका योजना बनाइएपनि असुविधा र विविध कारण देखाउँदै गाउँपालिकाको कार्यसूचीमा सम्बन्धित निकायले चासो देखाएनन् ।

‘यसपटक हामीले पूर्वतयारीका लागि बेसक्याम्पस टोली लिएर गएका थियौं, विविध कारण देखाउँदै यहाँसम्म कार्यक्रम ल्याउन सकिएन’ प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले भने ।

पहिलो मानव पाइला परेको अन्नपूर्ण हिमालको फेदमा पुगेर म्याग्दीका जिल्ला स्तरीय समन्वय बैठकले म्याग्दीकै भूगोलमा आरोहण दिवस मनाउन माग गर्ने निर्णय समेत गरेका थिए । गाउँपालिका अध्यक्ष भारतकुमार पुनले समन्वय बैठकको निर्णय अनुसार आरोहीले प्रयोग गर्ने आधार शिविर र हिमाल भएको भूगोलमा अन्नपूर्ण आरोहण दिवस मनाउन नेपाल पर्यटन बोर्डलाई पत्राचार गरिएको बताए ।

गत वैशाख २० गते बिहिबार जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाको अध्यक्षतामा म्याग्दीका ६ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रजिअ लक्ष्मण ढकाल लगायत सुरक्षा अधिकारीहरूको बैठक समुन्द्रि सतहदेखि ४ हजार १०० मिटर उचाइमा रहेको आधार शिविरमा बसेको थियो।

स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरेर ‘अन्नपूर्ण डे’ का लागि गाउँपालिकाले भौतिक पूर्वाधार सहित राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा रोयल्टी दावी गरेपछि गत मंसिरमा उपाध्यक्ष बालानन्द पौडेल सहितको टोलीले स्थलगत अध्ययन समेत गराएको थियो । ‘हामीले धेरै प्रयास गर्दा पनि सम्बन्धित निकायबाट चासो पुगेको छैन, हिमाल यहाँ छ, दिवस अकै ठाउँमा हुन्छ, हामी थाकेका छैनौ’ अध्यक्ष पुनले भने ।

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म आइपुगिन्छ। त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार क्षेत्र पुगिन्छ। पदमार्ग निर्माणका लागि नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयले दुई करोड ८० लाख बजेटसहित गाउँपालिकाले समेत छोटेपा, हुमखोला, फुतफुते झरना, सन्धिखर्क, भुसकेत, धर्मशाला गरी ६ वटा खोलामा झोलुंगे पुल निर्माणका साथै ६ स्थानमा आश्रयस्थल निर्माण गरेसँगै आधार क्षेत्रसम्म जाने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज छ ।

सात दशकअघि सन् १९५० को जुनमा अन्नपूर्ण हिमाल आरोहण गरी पर्वतारोहणको सुनौलो इतिहास रच्ने मौरिस हर्जोग र उनको टोलीले हिँडेको पुरानो मार्ग पछ्याउँदै फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको आधार क्षेत्रमा सालिक तयार गरिएको छ।

मौरिसले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि सगरमाथाको पहिलो आरोहण भएको थियो। मौरिस नेपाललाई हिमाल आरोहणबाट विश्वमा चिनाउने पहिलो विदेशी आरोही हुन्। उनको सम्झनामा नारच्याङका तेज गुरुङको अगुवाइमा २०६८ सालमा पहिचान भएको मौरिज हर्गोज पदमार्गको प्रचारप्रसारका लागि यसअघि २०७६ सालमा प्रथम अन्नपूर्ण महोत्सवको आयोजना गरिएको थियो।

मानव बस्तीदेखि टाढा रहेको आधार शिविर आसपासका क्षेत्रमा अझै पनि मौरिसका बारेमा ढुंगामा लेखिएका अभिलेख पाइन्छन्।अन्नपूर्ण दिवस विश्वका आठ हजार मिटर अग्ला हिमाल मध्ये आरोहण गरिएको पहिलो हिमाल हो। सन् १९५० मा जुन ३ मा फ्रान्सेली आरोही मौरीस हर्जोग र लुई लचेनलले पाइला टेकेपछि विश्वका आठ हजार मिटर अग्लो हिमालमा पहिलो पटक आरोहण आरम्भ भएको दिनका रुपमा यो दिनलाई विशेष रुपमा मनाउन थालिएको हो।

Leave a Reply