म्याग्दीको अति विकट धवलागिरी गाउँपालिका-१,गूर्जामा किसानले उत्पादन गरेको आलुलगायत तरकारी खेतमै कुहिने गरेको छ । हरेक बर्ष किसानले उत्पादित आलुले ढुवानी महँगो र बजारमा समेत उचित मुल्य पाउन सकेको छैन ।

समुन्द्री सतहदेखि ३ हजार २ सय २० मिटर उचाइमा अवस्थित गूर्जामा सडक सञ्जाल नपुग्दा खच्चडबाट ढुवानी गर्दा महँगो पर्ने र बजारमा समेत आलुको मुल्य नहुदाँ गाउँमै आलु अलपत्र परेको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए ।‘ढुवानीमै आलुको मुल्य सकिन्छ, खेतबारीमै किसानको मेहनत खेर गएको छ’ अध्यक्ष छन्त्यालले भने ।

गूर्जामा घरायसी प्रयोजन बाहेक बिक्रीका लागि राखेको आलु यतिबेला घरमै थुपारिएको छ ।  ‘उत्पादनलाई बजारमै पुर्याउन सकस छ, ढुवानीमा अनुदान भएमा यहाँको आलुले बजारमा राम्रो मुल्य पाउँछ’ कृषक तुलसी छन्त्यालले भनिन्।

गूर्जाको प्रमुखमध्येको उत्पादन आलुको बजारीकरणमा सघाउन अनुरोध गदैं अर्की कृषक सुकमायाँ छन्त्याललेदुःख गरेर गाउँवासीले लगाएको आलु बजारमा पु¥याउन नसक्दा आलु कुहिने गरेको बताइन् ।

गूर्जाका २ सय ६० घरधुरीमध्ये करिब ६० कृषकले आलु उत्पादन गरी बिक्री गर्ने गरेका छन् । खाद्यान्न र अन्य सामान लिएर गएका खच्चडबाट ढुवानी गर्ने गरिएपनि अधिकांसले कोशेली, आफन्तलाई सित्तैमा पठाउने गरेका छन् ।

गूर्जाको माथिल्लो क्षेत्र, बस्तीभन्दा टाढा रहेका खेतबारीमा समेत आलु खेती हुन्छ । स्थानीय कृषकले गाउँपालिकालाई बजार व्यवस्थापनमा सघाउन सङ्कलन केन्द्र बनाएर आलु भण्डारण गर्न अनुरोध गरेका छन् ।

Leave a Reply